मानव सेवा आश्रमका बालगोपाल, लक्ष्मी र नारायण भवन बन्ने

रासस

बुधबार, ०८ बैशाख २०७८, १५ : १६
मानव सेवा आश्रमका बालगोपाल, लक्ष्मी र नारायण भवन बन्ने

मोरङ । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ । कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण गरिने छ जसका नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ । 

मिस वल्र्ड नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्शा निर्माण गरेको हो । प्रदेश नं १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र  नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्ने छन् । 

 यसैगरी महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायत अन्य गण्यमान्यले व्यक्तिगतरुपमा एकएक कोठाका लागि रु एक करोड ७४ लाख सहयोग गरी ३४  कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरका प्रमुख पराजुली र  उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गरे ।

सो अवसरमा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पु¥याएको धारणा राखे ।सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गरे । यसैगरी आश्रम निर्माणका लागि विराट व्यापार सङ्घले रु दुई लाख ५० हजार तथा ११ जनाले रु एक लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस