कोरोना महामारी : विपन्नको अवस्था झनै बिजोग

पत्रपत्रिकाबाट

सोमबार, ३० चैत्र २०७७, ०७ : ४९
कोरोना महामारी : विपन्नको अवस्था झनै बिजोग

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै भक्तपुरको चामतीस्थित अजिमा इँटा उद्योग बन्द गरिएपछि शर्मिला विक बेरोजगार भइन्। १० महिनापछि उद्योग खुलेर उनले इँटा बोक्ने काम त पाउन थालिन् तर पहिलेजस्तो कमाइ नहुँदा कसरी गुजारा चलाउने भन्ने पिरलोले सताएको छ।

रोल्पाको घर्तीगाउँबाट पतिसँग १४ वर्षअघि काठमाडौं छिरेकी ३२ वर्षीया शर्मिलाले पहिलोपटक यति लामो समय खाली हात बस्नुपर्‍यो। उनका पति सुकराम त्यही उद्योगको गाडी चलाउँथे। उद्योग बन्द भएपछि उनको पनि आम्दानी सुक्यो। उनीहरूले कोठाभाडा मासिक तीन हजार रूपैयाँ बुझाउनुपर्छ, दुई सन्तानसहितको परिवारलाई खाद्यान्नलगायत महिनामा करिब १० हजार रूपैयाँ खर्च हुन्छ। ‘पहिला बूढाबूढी भएर महिनामा ३०–३२ हजार रूपैयाँसम्म कमाउँथ्यौं। काम ठप्प भएपछि दुई छाक जुटाउनै मुस्किल पर्‍यो,’ शर्मिलाले सुनाइन्।  

रञ्जतकुमार चौधरी पनि भक्तपुरकै सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा रहेको मैत्री हनुमान इँटा उद्योगका गाडी चालक हुन्। उनी अहिले प्रायः फुर्सदमै हुन्छन्। दाङको देउखुरीका ३५ वर्षीय चौधरीलाई राजधानी छिरेको १५ वर्षमा कामको खडेरी लागेको यसैपालि हो। ‘लकडाउन हुनुअघि महिनामा २५ हजार रूपैयाँसम्म हात पथ्र्यो,’ उनले भने, ‘लकडाउनपछि केही दिनबाहेक कामै ठप्प त भएन तर कमाइ १५ हजार रूपैयाँ कटेन।’कमाइ खुम्चिएपछि छोराको स्कुल शुल्क तिर्न र घर खर्च चलाउन हम्मे परेको चौधरीले सुनाए।  

मैत्री हनुमान उद्योग बन्द भएपछि त्यहाँ इँटा बोक्ने २१ वर्षीया सुष्मा पाकुरको कमाइ शून्य भयो। त्यही बेला उनी बिरामी भइन्। अस्पतालमा  जँचाउँदा टाउकोमा पानी जमेको पत्ता लाग्यो। डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका छन् तर त्यसका लागि उनीसँग खर्च छैन। उनका पति नरेशमान काम खोज्न सर्लाही पुगेका छन्। उता पनि कमाइ राम्रो हुन सकेको छैन। ‘अलिअलि भएको बचत पनि सकियो, साथीभाइसँग सापट मागेर कति दिन चल्ला र रु’ सुष्माले गुनासो गरिन्।  

कोरोना महामारी सुरु भएसँगै लामो समय आम्दानीको स्रोत गुमाएका शर्मिला, रञ्जत र सुष्मा प्रतिनिधि पात्रमात्र हुन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिँदा विभिन्न क्षेत्रमा हजारौंले रोजगारी गुमाए। यसले खासगरी दिनभरि कमाउने र त्यसैले दुई छाक टार्ने वर्गलाई बिचल्ली बनायो। अलिअलि बचत गर्नेहरू पनि महिनौं कामविहीन बन्दा थाप्लोमा ऋणको भारी बोक्न बाध्य भए। कोरोना भाइरसको आतंक न्यून भएसँगै उद्योगधन्दा, व्यापार–व्यवसाय खुले पनि पूर्ववत् रूपमा सञ्चालन हुन सकेका छैनन्।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस