लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव

रासस

शनिबार, २८ चैत्र २०७७, १८ : ४६
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेख्नुभएको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउनुभयो ।

संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

“नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ”, यादवले भन्नुभयो, “नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।” राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताउनुभयो ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ”, यादवले भन्नुभयो, “तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।”

संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उहाँको भनाइ थियो ।  सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताउनुभयो ।

कार्यक्रममा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले सापकोटाले धार्मिक क्षेत्र तथा सामाजिक सङ्घसंस्थामा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो । व्यक्तिले असल कार्य गर्दै समस्त कृतिलाई लिपिबद्ध गर्दै अघि बढे जीवन सरल र  सफल बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । इतिहास भनेको कतैबाट आउने नभई आफँैले कर्म गर्दैै जाँदा बन्नेसमेत उहाँले बताउनुभयो । 

जीवनवृत्तान्तमा आधारित कृति लोकार्पणका क्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीनपटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताउनुभयो । सापकोटाले टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस