जनताको भावनालाई कुल्चेर व्यापारी खुसी बनाउँदै आपूर्ति मन्त्री भट्ट

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १५ : ५५
जनताको भावनालाई कुल्चेर व्यापारी खुसी बनाउँदै आपूर्ति मन्त्री भट्ट

काठमाडौं । नाम वामपन्थीको छ । कम्युनिस्ट पार्टीको व्यानर पनि लगाइएको छ । सर्वहारावर्गको पक्षमा सरकार रहेको पनि बेला बेलामा भनिने गरिन्छ । भोट माग्दा गरिब, किसानको पार्टी पनि भनिन्छ । तर, खड्ग ओली नेतृत्वको सरकारले दिनदहाडै गरिब जनता, गरिखाने वर्ग समस्यामा पर्दा समेत वरको सिन्को समेत पर सार्न सकेको छैन । 

बजारमा खाद्यान्नको चरम मूल्यवृद्धि भएको छ । खाने तेलदेखि चामल, आँटा तथा दैनिक उपभोग्य वस्तुमा असाध्यै धेरै मूल्यवृद्धि भएपनि खड्ग ओलीको सरकार कसरी सत्ता टिकिरहने र क लागेको छ । ओली सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सरी आफू मात्रै सबल बन्ने ध्याउन्नमा छन्, लेखराज भट्ट । 

आजकल उनलाई व्यापारी खुसी बनाउँदैमा ठिक्क छ । सरकारी साधन तथा स्रोत व्यापारीलाई बुझाएर मन्त्री भइरहनुपर्ने सोखमा छन् उनी । व्यापारीको हितका लागि ५० हजार डलर भन्दा महंगा सवारी साधन आयात गर्न दिने निर्णय समेत उनकै जोडबलमा गरिएको छ । हरियो केराऊ मरिच, छोकडाको निर्वाध आयात गर्न दिने निर्णय समेत उनै भट्टको पहलमा भएको छ । व्यापारीको हितका लागि जे जसो गर्न पनि तयार रहेका लेखराज जनताको पक्षमा भने कुनै पनि निर्णय गर्न नपरोस् भने जसरी प्रस्तुत भएका छन् । 

उनी जनयुद्धबाट स्थापित भएका नेता हुन् । कैलालीमा सयौं बिगाहा जग्गा भएपनि उनले जनयुद्धमा गरेको योगदान राम्रै थियो । मति बिग्रेर यतिबेला खड्ग ओलीको गुटमा सहभागी भएपछि लेखराजलाई पनि पैसा कमाउने सनकले काम गरेको छ, उनलाई जान्ने सुन्नेहरु भन्छन्, यति नरामरी लेखराज बिग्रेलान् भन्ने त हामीलेक ल्पना समेत गरेका थिएनौ । 

उनको सचिवालयका अनुसार आजकल लेखराजले व्यापारी, कसिमनखोरी तथा सुटकेश बोकेका, टाइसुटलगाएका बाहेक अरु कोही कसैलाई पनि भेट दिँदैनन् । “मेरो वर्ग फेरियो, अब धरातल पनि फेरिएको छ । म माओवादी पनि रहिन, हुन पनि सकिन । अब मेरो नेता केपी ओली हो । केपी ओलीको सिद्धान्त भनेकै सम्पन्न होऊ, समृद्ध होऊ् भन्ने हो, त्यही कारण अब म काम पनि समृद्ध हुने मात्रै गर्छु” लेखराजले आफना निकटस्थहरुसँग यस्तै, यस्तै भन्ने गरेका छन् । 

केही समय पहिले मात्रै बलाुवाटारमा एमाले भए भन्दै टिका लगाएकाहरुको उद्योगले नै तेल, चामल , आटालगायतको चरम मूल्यवृद्धि गरेको छ । दुगड समूह नेपालमा ती क्षेत्रको व्यवसायमा संलग्न छ । तर, लेखराजले भने व्यापारीले पनि केही नाफा कमाउनु प¥यो नी भन्दै आम जनताको भावनालाई कुल्चेर मूल्यवृद्धि रोक्ने तर्फ कुनै पनि पहल गरेका छैनन् । 

उनकै कारण यतिबेला नापतौल तथा गुणस्तर विभाग अर्को भन्सारका रुपमा परिणत भएको छ । सिमेन्ट, डण्डीलगायतको गुणस्तर मापन  गर्ने सो निकायले पनि मन्त्रीको आडमा नापतौल तथा गुणस्तर मापन गर्न छाडेको छ । 

सधैका महानिर्देशक विश्वबाबु पुडासैनीलाई मन्त्री भट्टले सकेको उठाउन र त्यसको ७० प्रतिशत हिस्सा आफूलाई उपलब्ध गराउन निर्देशन नै दिएका छन् । सिमेन्टको गुणस्तरका सम्बन्धमा विभागले केही दिन पहिले गरेको निर्णय त्यसैको खास तथ्य हो । पुडासैनीले बजारबाट संकलन भएका नमुनाको समेत परिक्षण नै नगरी मोटो रकम लिएर केही सिमेन्ट उद्योगको गुणस्तरहिन सिमेन्ट बजारमा बिक्री गर्ने अनुमति दिएका छन् । 

यस्तै, काष्ठमण्डप, जगदम्बालगायतका फलामे डण्डीमा देखिएको कैफियतामा समेत मन्त्री भट्टकै कारण आँखा चिम्लिएको तथ्य सार्वजनिक भएको छ । उपभोक्ता संरक्षण विभागलाई समेत मन्त्री भट्टले काम गर्नै नसक्ने बनाइदिएका छन् । साना तिना व्यापारीलाई कारवाही गर्ने विभाग ठूलाले गरेको बदमासीको भने थाहा नपाए जस्तो गर्नुको पछाडि राम्रै आर्थिक चलखेल भएको बताइन्छ । 

सुदूरपश्चिममा गुट विस्तारका लागि पनि पैसा चाहिन्छ, जसरी भएपनि पैसाको प्रबन्ध गर्नु पर्छ भन्दै उनले आफना संयन्त्र समेत राम्रैगरी परिचालन गरेका छन् । स्वकीय सचिवालयमा रहेकालाई समेत व्यापारी आए मात्रै आफूलाई भेटाउन, अरु आए, मन्त्रीज्यू व्यस्त भन्दै फर्काउन उनले निर्देशन दिएका छन् । यसबारेमा जानकारी लिन मन्त्री भट्टसँग पटक पटक फोन सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएनन् । 

प्रतिक्रिया दिनुहोस