लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०८२, १४ : ३२
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उस्तो उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

‘नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो । ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन । म पनि उहाँलाई पढ्दै छु’, भट्टको भनाइ थियो । उनले ओलीलाई बुझ्न अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए ।

‘उहाँ कतिखेर के कदम चाल्नु हुन्छ भन्ने हामीले बुझ्न सक्दैनौँ, चालेपछि बल्ल थाहा हुन्छ । एउटा संघर्ष, इतिहास निर्माणबाट आउनुभएको छ ।’ नेकपाकालको अन्तरसंघर्षमा ओलीलाई कारबाही गरिसकेपछि अब पार्टी बन्छ त ? भन्ने प्रश्नबीच पार्टी बन्छ भन्ने आत्मविश्वास साथ आफूले ओलीलाई साथ दिएको भट्टले बताए ।

उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, ‘महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ । म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस