दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

पत्रपत्रिकाबाट

सोमबार, १६ चैत्र २०७७, ०७ : ५६
दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

सिन्धुली । बिपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका–५ रिट्ठेभिरमा राजमार्गको भित्ताभरि हजारौं ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर सेल्फी खिच्न गाडी रोक्नेको भीड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौं जाँदै गरेको एक निजी गाडी सुनकोसी गाँउपालिकाको रिट्ठेभिरको उक्त स्थानमा रोकियो।

गाडी रोकेर गाडी चालकले भित्तामा रहेका अरू ऐनासँगै एउटा ऐना थपे। ऐना राखेपछि उनले विश्वास र आत्माबल बढेको बताए। ऐनामा गाडी नम्बर र यात्रा सफलताको कामना गरिएको थियो। ‘यस क्षेत्रमा सबैले ऐना चढाएको देखें, मलाई पनि ऐना चढाउने धोको थियो, आज पूरा गरें,’ उनले भने, ‘यो ऐनामा दुर्घटना टर्ने विश्वास अडिएको रहेछ, त्यसैले मैले पनि ऐना चढाएँ।’

बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्डमा पर्ने सिन्धुलीको सुनकोसी गाउँपालिका–५ र ६ को सिमानामा रिट्ठेभिर पर्छ। त्यही रिट्ठेभिरको करिब ३ सय मिटरमा राजमार्गको भित्ताभरि हजारौं ऐना सेतीदेवीका नाममा चढाइएका छन्। रिठ्भिर भन्नेबित्तिकै दुर्घटना सम्भावित क्षेत्र र दुर्घटनाको प्रत्यक्ष बेहोरेको क्षेत्रका  रूपमा परिचित छ। बिपी राजमार्ग ट्र्याक सडक हुँदै त्यस क्षेत्रमा ठूला दुर्घटना भएका थिए। २०६८ सालमा मात्रै त्यस क्षेत्रमा चारवटा दुर्घटना भएको स्थानीयको भनाइ छ। जसमध्ये दुईवटा दुर्घटनामा धेरैले ज्यान गुमाए।

२०६८ वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो यस्तै सोही वर्षको असोज २६ गते दसैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु बोकेको बस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए। त्यसपछि त्यहा देवी रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रा गर्ने यात्रुको छ। ठूला दुर्घटनापछि सोही विश्वासका आधारमा त्यस स्थानमा ऐना चढाउन सुरु गरिएको स्थानिय बताउँछन्। केहि वर्षअगाडिबाटै त्यस क्षेत्रमा सेती देवी रहेको र सोही देवीका नाममा ऐना चढाउने गरिएको ऐना संरक्षण गर्न बसेका डम्बर हायुले बताए।

‘सेतीदेवीलाई खुसी पार्दा यात्रा सफलता र दुर्घटना टर्ने विश्वास छ, त्यही विश्वासमा सेतीदेवीलाई सिँगारका सामान चढाउँदा ऐना चढाइएको हो,’ उनले भने, ‘हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। सेतीदेवीका नाममा उक्त मन्दिरमा बा२ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना राखेको र त्यहिबाट ऐना राख्ने थालनी भएको सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहाल बताउँछन्। उनका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ। नागरिक दैनिकमा खबर छ ।