राजधानीमा एकाएक बढ्यो वायु प्रदूषण, सकेसम्म बाहिर ननिस्कन आग्रह

पत्रपत्रिकाबाट

शनिबार, १४ चैत्र २०७७, ०६ : ५७
राजधानीमा एकाएक बढ्यो वायु प्रदूषण, सकेसम्म बाहिर ननिस्कन आग्रह

राजधानीमा धुवाँ र धुलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ। वायु प्रदूषणका कारण शुक्रबार दिनभरि नै काठमाडौं उपत्यका धुम्म भयो।

विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषणमापक स्टेसनले काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर हिसाबले बढेको देखाए। अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ।

वातावरण विभागको वेबसाइटमा साँझ पौने ६ बजे भैंसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) चार सय सतचालीस रेकर्ड भएको उल्लेख छ। यो जनस्वास्थ्यका लागि अत्यधिक घातक स्तर हो।

अमेरिकी राजदूतावासमा राखिएको वायु प्रदूषणमापक स्टेसनमा सोही समयमा यो अंक २९४ रेकर्ड भएको छ। यो पनि जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर हो। रत्नपार्कमा अक्वा २०० को हाराहारीमा थियो। यो पनि जनस्वास्थ्यका हिसाबले अस्वस्थकर स्तर हो।

अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स अक्वा १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ। यसलाई रातो रङ दिइएको छ।

शून्य देखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ। त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ। यो खतराको हिसाबले पाँचौं तह हो। यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ। ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस