होला त फेरि लकडाउन ?

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १४ : ४४
होला त फेरि लकडाउन ?

file photo

काठमाडौँ । हिन्दूहरुको रमाइलो चाड फागुपूर्णिमा नजिकिँदै गर्दा नेपालमा पुनः लकडाउन हुनसक्ने हल्ला चल्न थालेको छ । जिल्ला प्रशासन कार्यालयहरुले भिडभाड नगर्न सूचना जारी गरिरहेका छन् ।

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ ।

सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ । ती मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि सोको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ ।

मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको आरडीटी तथा सम्भव भएसम्म कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था मिलाउन प्रवेश स्वास्थ्य निर्देशनालयसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस