बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंगलबार, १० चैत्र २०७७, ०७ : ५५
बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नेपाल र बंगलादेशबीच चार क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

दुई पक्षबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी अब्दुल हमिदबीचको भेटवार्ताका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई मुलुकबीच भएको पहिलो समझदारी हो– पर्यटनमा सहकार्य । यसअन्तर्गत नेपालमा बंगलादेशबाट पर्यटक भित्र्याउन सहज बनाउनु रहेको छ । जसका लागि नेपालले सइदपुरदेखि विराटनगरसम्मको हवाई सेवा दिनेछ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाका रूपमा नेपाल सरकारले अघि बढाउन खोजेको छ ।

यस्तै, संस्कृति आदानप्रदानमा सन् २०२२ देखि २०२५ सम्म सहकार्य गर्ने कार्यक्रमको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीहरूले एकआपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गरिनेछ । एकअर्को देशको सांस्कृतिक अध्ययन गर्न सरकारीस्तरबाटै सहयोग उपलब्ध गराउने भन्ने विषयमा यो सम्झौता केन्द्रित छ ।

तेस्रो समझदारी हो– स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई त्यसको निवारण गर्नका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी सहकार्य गर्ने विषय यो सम्झौतामा केन्द्रित छ । कान्तिपुर दैनिकमा खबर छ ।