काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नेपाल र बंगलादेशबीच चार क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुई पक्षबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी अब्दुल हमिदबीचको भेटवार्ताका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुई मुलुकबीच भएको पहिलो समझदारी हो– पर्यटनमा सहकार्य । यसअन्तर्गत नेपालमा बंगलादेशबाट पर्यटक भित्र्याउन सहज बनाउनु रहेको छ । जसका लागि नेपालले सइदपुरदेखि विराटनगरसम्मको हवाई सेवा दिनेछ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाका रूपमा नेपाल सरकारले अघि बढाउन खोजेको छ ।
यस्तै, संस्कृति आदानप्रदानमा सन् २०२२ देखि २०२५ सम्म सहकार्य गर्ने कार्यक्रमको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीहरूले एकआपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गरिनेछ । एकअर्को देशको सांस्कृतिक अध्ययन गर्न सरकारीस्तरबाटै सहयोग उपलब्ध गराउने भन्ने विषयमा यो सम्झौता केन्द्रित छ ।
तेस्रो समझदारी हो– स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई त्यसको निवारण गर्नका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी सहकार्य गर्ने विषय यो सम्झौतामा केन्द्रित छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला