बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

एजेन्सी

मंगलबार, ०५ फागुन २०८२, ०९ : १६
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

एजेन्सी । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान आज बंगलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदैछन् । बीबीसीका अनुसार प्रधानमन्त्री रहमान र मन्त्रिपरिषद्का सदस्यको शपथ ग्रहण अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता सुम्पिन लागेको हो । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति आफ्नो बिदाइ सम्बोधनमार्फत पद त्यागको घोषणा गरेका थिए ।

गत १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो । यस्तै, जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट प्राप्त गरेको छ ।

नयाँ सरकार गठनसँगै संसद् सदस्यको शपथ ग्रहण समारोह समेत आयोजना गरिएको छ । मुख्य निर्वाचन आयुक्तले आज बिहान १० बजे संसद् भवनको ‘साउथ प्लाजा’ मा नवनिर्वाचित संसद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।

रहमानले पहिलो पटक संसदीय चुनावमा बंगलादेशको प्रमुख राजनीतिक दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरेका हुन्। यसबाहेक १७ वर्ष बेलायतमा निर्वासित जीवन बिताएर फर्किएका उनले आफैं पनि पहिलो पटक यो चुनावमा भाग लिएका हुन्।

रहमानले करिब १७ वर्षसम्म बेलायतको लन्डनमा राजनीतिक शरण लिएका थिए। पूर्वराष्ट्रपति जियाउर रहमानले बीएनपीको स्थापना गरेका थिए । यसको सञ्चालन पूर्वप्रधानमन्त्री खालिदा जियाले निकै सफलतापूर्वक गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस