बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत

सफल खबर संवाददाता

शुक्रबार, ०१ फागुन २०८२, १० : ५२
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत

ढाका । बंगलादेशमा १८ महिनाअघि छात्र विद्रोहले शेख हसीना सरकार ढलेपछि भएको पहिलो आम निर्वाचनमा बगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले प्रचण्ड बहुमत हासिल गरेको छ । तारिक रहमान नेतृत्वको बीएनपीले ३०० सदस्यीय संसद (जातीय संसद) मा दुई–तिहाइभन्दा बढी सिट जितेको हो ।

स्थानीय टिभी च्यानलहरूका अनुसार बीएनपी गठबन्धनले २०९ सिट जितेको छ भने जमात ए इस्लामी गठबन्धनले ७० आसपास सिट प्राप्त गरेको छ । यो निर्वाचनमा करिब १२.७ करोड मतदाताले भाग लिएका थिए । १७ वर्ष लन्डन निर्वासनमा रहेका तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिन्छ । उनी बीएनपीका सुप्रिमो तथा भुतपूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् ।

बीएनपीले यो जितलाई ‘जनताको विश्वासको प्रमाण’ भनेको छ । यो परिणामले २०२४ को ‘जन–युवा क्रान्ति’ पछि अस्थिर राजनीतिलाई स्थिरता दिने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान प्रक्रियालाई ‘स्वतन्त्र तर पूर्ण निष्पक्ष नभएको’ भने पनि कुनै ठूलो विवाद भने छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानलाई बधाई दिँदै भनेका छन्, ‘यो जित जनताको विश्वासको प्रतिबिम्ब हो ।’

अब केही दिनभित्रै नयाँ सरकार गठन र सांसदहरूको शपथ ग्रहण हुने अनुमान छ । यो परिवर्तनले दक्षिण एसियाली क्षेत्रको राजनीतिमा पनि प्रभाव पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस