खनाल–नेपाल समूह भेलाको निष्कर्ष : समानान्तर कमिटी र अन्तरसंघर्ष

शुक्रबार, ०६ चैत्र २०७७, ०७ : ४४
खनाल–नेपाल समूह भेलाको निष्कर्ष : समानान्तर कमिटी र अन्तरसंघर्ष

काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टीभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकालेको छ । २०७१ मा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट पारित पार्टी नीतिको आडमा ओली प्रवृत्तिविरुद्ध अन्तरसंघर्ष चलाउने र स्थानीय कमिटीसम्म समानान्तर सांगठनिक गतिविधि गर्ने निचोडसहित खनाल–नेपाल समूहको दुईदिने राष्ट्रिय भेला सकिएको छ ।

नवौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी माधव नेपाल समूहको नीति पारित हुँदा ओली निर्वाचित भएका थिए । त्यसलगत्तै ओली समूह र नेपाल समूहका बीचमा तीव्र गुटबन्दीका आधारमा फाटो हुँदै आएको थियो । २०७२ र २०७४ मा गरी दुईपटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली व्यक्तिवादी बनेको, चरम गुटबन्दीमा रमाएको, मदन भण्डारी फाउन्डेसनका नाममा गुटका गतिविधि चलाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेपालपक्षीय नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

२०७५ जेठमा माओवादी केन्द्रसँग एकीकृत भएर नेकपा बनिसकेपछि पनि ओलीले गुटवादी गतिविधि कायम राखेको भन्दै पार्टीमा अन्तरविरोध बढ्दै गएको थियो । ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारतः विभाजित नेकपाले समानान्तर गतिविधि गर्दै आएको थियो । एमालेको खनाल–नेपाल समूहको एउटा पंक्ति र माओवादी केन्द्रको ठूलो समूह एकै ठाउँमा थिए । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पूर्वपार्टीहरू ब्युँताइदिएपछि पनि एमालेका दुई समूहले फरक–फरक गतिविधि गर्दै आएका छन् ।

त्यसैको सिलसिलास्वरूप खनाल–नेपाल समूहले बुधबार र बिहीबार मुलुकभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागितामा राष्ट्रिय कार्यकर्ता भेला गरेको हो । भेलामा सहभागी कार्यकर्ताले एमालेलाई एकताबद्ध गर्नुपर्ने तर ओली प्रवृत्तिलाई पराजित गर्नुपर्ने राय राखेपछि त्यहीअनुसार १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सकिएको हो । १० समूहमा छलफल गरेका नेता–कार्यकर्ताले ‘ओली प्रवृत्ति’ सुधार्नका लागि प्रयास गर्ने, त्यो नसकिए ओली प्रवृत्तिको भण्डाफोर तथा सामाजिक–आर्थिक रूपान्तरणको अभियान चलाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रदेश २ टोलीको नेतृत्व गरेकी मञ्जु यादवले नवौं महाधिवेशनयताका सबै विषयको निर्मम समीक्षा गरेर अबको योजनाबारे श्वेतपत्र जारी गर्नुपर्ने बताइन् । नवौं महाधिवेशनले पारित गरेको नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रम बनाइनुपर्ने, त्यसका लागि माथिदेखि तल्लो कमिटीसम्म छलफल चलाउनुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी एकता र शुद्धीकरणको आफूहरूको प्रस्ताव ओली गुटबाट स्वीकार नभए के गर्ने भनेर प्रश्न गरेकी छन् । यो प्रश्न अरू समूहका टोली नेताले पनि गरेका थिए तर पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र ओली प्रवृत्तिविरुद्ध लड्ने बताएका नेताहरूले अन्तिम विकल्प के हुने भन्ने जवाफ दिन सकेनन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस