स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार

रासस

मंगलबार, २५ फागुन २०७७, १६ : ०१
स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार

चितवन । चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् ।

सुत्केरी  हुनेमध्ये तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् ।

 दुई प्रतिशत अर्थात् २१८ महिलाले ‘भ्याकुम फोर्स’का सहायताबाट बच्चा जन्माएको उनले बताईन् । ६२.३ प्रतिशत अर्थात छ हजार ५६८ महिलाले समान्यरुपमा बच्चा जन्माएको कार्यालयको तथ्याङक छ । 

चालू आवमा मातृ मृत्युदर एक लाखमा ३३.२ रहेको छ भने जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ । गत आव २०७६/७७ मा ३४.३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका थिए । गत आवमा जिल्लाभरमा १८ हजार ७८५ महिला सुत्केरी भएका थिए । जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले महिलाको शारीरिक अवस्था, बच्चाको अवस्थालगायतका विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने देखिएमा डाक्टरले नै शल्यक्रिया गराउन सल्लाह दिए । कतिपय अवस्थामा पीडा सहन नसक्दा गर्भवती र आफन्तले नै शल्यक्रिया गरिदिन भन्ने गरेको उनले बताए ।

 पछिल्लो समय महिलाले जोखिम मोल्न र पीडा सहन नसक्दा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा पोख्रेल बताउछन्। “यस्तै एकपटक शल्यक्रियामार्फत् बच्चा जन्माएकी महिलाले अर्को पटक जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने भएकाले पनि यो दर बढ्दै गएको उनले बताए ।”