देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

रासस

शनिबार, २२ फागुन २०७७, १२ : ४७
देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

file Photo

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।”

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस