मलेसियामा कार्यरत तीन लाख नेपाली सामाजिक सुरक्षामा आवद्ध

पत्रपत्रिकाबाट

बुधबार, १९ फागुन २०७७, ०८ : १२
मलेसियामा कार्यरत तीन लाख नेपाली सामाजिक सुरक्षामा आवद्ध

काठमाडौं । मलेसिया सरकारले त्यहाँ कार्यरत ३ लाखभन्दा बढी नेपाली श्रमिकलाई आवद्ध गर्दै सामाजिक सुरक्षा योजना कार्यक्रम लागू गरेको छ ।वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था ९सोक्सो० बीच नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्धता गराउने समझदारी भएको हो । समझदारीपत्रमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सोक्सोका प्रमुख कार्यकारी अधिकृत दातो मोहम्मद अजमान विनले हस्ताक्षर गरेका छन् ।

यही फागुन १४ गते नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदामा चरणबद्ध छलफल गरी नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने टुंगो लागेको थियो । मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार सो समझदारीपत्रमा हस्ताक्षर गर्नको निम्ति वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी प्रदान भएको थियो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको हो । मलेसियाले सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान बनाएको थियो । सोक्सोका अनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिक यसमा आवद्ध भइसकेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार यो योजनामा आवद्ध भएका नेपालीका लागि रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्ने प्रावधान छ । तर १ जनवरी २०२० पछि भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसअनुसार हालसम्म ४ लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आवद्ध भइसकेका छन् । कारोबार दैनिकमा खबर छ ।