दक्षिण भारतीय फिल्ममा स्वस्तिमा खड्का अनुबन्धित

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, ०८ : १७
दक्षिण भारतीय फिल्ममा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक दक्षिण भारतीय फिल्ममा अनुबन्धित भएकी छन् । केही महिना यताबाट नयाँ फिल्मको स्कृष्ट पढिरहेको बताउँदै आएकी यी अभिनेत्री अन्ततः सो फिल्ममा अनुबन्धित भएकी छन् ।

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित भएकी हुन् । निर्माण टिमले स्वस्तिमासँग यो फिल्मको नायिकाको लागि बिहीबार राजधानीको एक होटलमा कागजी सम्झौता गरेको हो । नेपाली फिल्ममा लिएका भन्दा दोब्बर पारिश्रमिक उनले यो फिल्ममा लिएको बताइएको छ । स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको तस्बिर सार्वजनिक गर्दै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको छ । सोहीकारण अहिले फिल्मको निर्देशक र निर्मातासहितको टोली लोकेसन र कलाकार छनोटका लागि नेपालमा छ ।

फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहने जानकारी प्राप्त छ । फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ ।

‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदै छ । त्योभन्दा अघि उनले फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकन सक्ने पनि बताएकी छन् । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालका तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ । निर्माण टिमले फिल्मको मोसन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा फिल्म निर्माण हुनेछ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस