मेरो अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकालाई प्रभाव पार्ने कुरा हुनै सक्दैन : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १२ : ०४
मेरो अभिव्यक्तिले स्वतन्त्र  न्यायपालिकालाई प्रभाव पार्ने कुरा हुनै सक्दैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्।  उनी आइतबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिएका हुन्। प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार लिखित जवाफ लिएर प्रचण्ड अदालत पुगेर लिखित जवाफ बुझाए । आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । उनले भनेका छन्, ‘मेरो अभिव्यक्तिले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पार्ने कुरा हुन सक्दैन ।’

प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा यस्तो हर्कत गरेको बताएका छन् । ‘आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभावित पारेको छैन’ प्रचण्डले भने ।  उनका अनुसार सरकार र उसका नातेदार अदालतलाई कमजोर पार्न यस्तो खेलमा लागेका हुन्छन् । 

प्रचण्डले लिखित जवाफमा भनेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस