राजीनामा नदिइ पदमा टाँसिएको भन्दै प्रवक्ता श्रेष्ठले पोखे ओलीमाथि आक्रोश

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, १६ : १०
राजीनामा नदिइ पदमा टाँसिएको भन्दै प्रवक्ता श्रेष्ठले पोखे ओलीमाथि आक्रोश

file Photo

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् । 

ओली पक्षले सत्तामा टाँसिरहने  नियतका साथ  सासदलाई आफ्नो पक्षमा पार्न सुटकेसामा पैसा  बोकेर हिँड्न थालेको आरोप समेत लगाए । 
शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरुसँगको छलफमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान  र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए । उनले भने, ‘संसद पुनर्स्थापनासँगै सबै चिज ठिकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृंखला अगाडि बढाएका छन् ।  यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’

उनले ओलीले  अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस,  जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’ कार्यक्रममा  पार्टीभित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने र गोर्खाको  समग्र विकास निर्माण र पार्टी निर्माणको विषययमा छलफल भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस