‘प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ’

रासस

शुक्रबार, १४ फागुन २०७७, १९ : ०८
‘प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताउनुभएको छ । 

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताउनुभयो । 

उहाँले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गर्नुभयो । “प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ । कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन”, उहाँले भन्नुभयो, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।” उहाँले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पार्नुभयो । 

उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिनुभयो ।

“अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,” उहाँले भन्नुभयो, “अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा  हामीहरु छौँ ।” उहाँको भनाइ थियो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको भनाइ राख्नुभयो ।  

नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताउनुभयो । उहाँले अब संसद्मा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताउनुभयो । 

अनेरास्ववियुका संयोजक ऐन महरले सर्वोच्च अदालतको फैसलाले मुलकुलाई अस्थिरतातर्फ धकेल्नेलाई फाइदा पुगेको बताउनुभयो ।