एजेन्सी । किलियन एमबापेले फ्रान्सेली फुटबलमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । विश्वकप २०२६ को गएराति भएको समूह आईको खेलमा सेनेगलविरुद्ध दुई गोल गर्दै २७ वर्षीय एमबापे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्।
न्युयोर्क न्युजर्सी स्टेडियममाफ्रान्सले ३-१ को जित निकाल्दा एमबापेले ओलिभियर जिरुको ५७ गोलको कीर्तिमानलाई तोडेका हुन्। यससँगै एमबापेको फ्रान्सका लागि ९९ खेलमा ५८ गोल पुगेको छ।
खेलको ६६औँ मिनेटमा पहिलो गोल गर्दै जिरुको बराबरी गरेका एमबापेले इन्जुरी समय मा २५ यार्ड टाढाबाट सानदार गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरे। विश्वकपमा मात्रै उनको १४ गोल पुगेको छ । अब उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज (१६ गोल) भन्दा मात्र दुई गोलले पछि छन्।
आफ्नो रेकर्ड तोडिएपछि बीबीसीसँग कुरा गर्दै ओलिभियर जिरुले एमबापेलाई बधाई दिए। उनले भने, 'किलियनलाई बधाई छ। उनी हरेक रेकर्ड तोड्न सक्षम छन्। मलाई लाग्छ उनले सहजै १०० गोल पुर्याउनेछन् र विश्वकपको सर्वाधिक गोलको रेकर्ड पनि तोड्नेछन्। उनी एक अद्भुत प्रतिभा र वास्तविक नेता हुन्।'
फ्रान्सेली फुटबल विज्ञ जुलियन लरेन्सले एमबापे अब जिनेदिन जिदान र मिसेल प्लाटिनीभन्दा माथि उठ्दै फ्रान्सको इतिहासकै महान खेलाडी बन्ने बाटो रहेको बताउ । सन् १९९८ मा पेरिसको उपनगर बन्डीमा जन्मिएका एमबापेको सफलता संयोग मात्र होइन, यो 'प्रोजेक्ट एमबापे' को नतिजा भएको उनको भनाइ छ ।
उनको परिवारले सानैदेखि उनलाई विश्वकै उत्कृष्ट बनाउने लक्ष्य राखेको थियो। ३ वर्षको उमेरमै राष्ट्रिय गान ला मार्सलाइज कण्ठ गरेका एमबापेले १६ वर्षको उमेरमा मोनाकोबाट डेब्यु गर्दै थियरी हेनरीका रेकर्डहरू तोड्न सुरु गरेका थिए। सन् २०१८ मा १९ वर्षको उमेरमै विश्वकप जितेका उनले २०२२ को फाइनलमा ह्याट्रिक गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, ०७ : ०९
लेखकबाट थप