ज्यानमारालाई आममाफी दिने सरकारी निर्णयविरुद्ध पीडित परिवार अदालत जाने

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, १७ : १७
ज्यानमारालाई आममाफी दिने सरकारी निर्णयविरुद्ध पीडित परिवार अदालत जाने

चितवन । तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तीन जनाले प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएपछि पौडेल परिवारले असन्तुष्टि जनाएको छ । शिव पौडेलको हत्यामा संलग्न फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर लामालाई फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा आममाफी दिइएको थियो । 

पौडेल परिवारले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्टि जनाएको हो । शिव पौडेल कविलासको केराबारीमा भएको गोलीकाण्डको अभियोगमा पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा रहेको समयमा कारागारभित्रै हत्या गरिएको थियो । 

२०६८ साल मंसिर २० गते पौडेलमाथि आक्रमण भएको थियो । आक्रमणमा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि हत्यारा प्रमाणित भई २० वर्ष जेल सजाय भोगिरहेकाहरुलाई अहिले आममाफी दिइएको हो । 

उनीहरुलाई आममाफी भएपछि परिवारले देशमा न्याय हराएको महसुस गरिरहेको पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड बढाउन ज्यानमाराहरुलाई आममाफी दिइएको आरोप लगाइन् । पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको राष्ट्रपति भएको अरोप लगाइन् । 

पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा अहिले आममाफी पाएका तीनै जनालाई पाँच÷पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुले गोविन्दको वि.सं २०६६ साल जेठ ३ गते हत्या गरेका थिए । कारागारमा रहेको समयमा सोही समुहले शिव पौडेललाई कारागारमा नै रहेका सामग्रीहरुको प्रयोग गरी हत्या गरेका थिए । 

पौडेलका छोरा शिविनजंग पौडेलले कारागारभित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफीका नाममा दिइएको उन्मुक्तिले आफूहरुलाई त्रास बढाएको बताए । पौडेलद्वयका दाजु तारा पौडेलले राज्य दण्डहीनताको पक्षमा गएको बताए । अहिलेको अवस्थामा कानुनी रुपमा अघि बढ्ने उनको भनाइ छ । आफूहरु मन्त्रीपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध कानुनी लडाईंमा जाने पौडेलले जानकारी दिए । गोविन्द पौडेलकी श्रीमती रिता पौडेलले आफूहरु संयुक्तरुपमा कानुनी लडाईंमा जाने बताइन् । 

प्रतिक्रिया दिनुहोस