चितवन । तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तीन जनाले प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएपछि पौडेल परिवारले असन्तुष्टि जनाएको छ । शिव पौडेलको हत्यामा संलग्न फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर लामालाई फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा आममाफी दिइएको थियो ।
पौडेल परिवारले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्टि जनाएको हो । शिव पौडेल कविलासको केराबारीमा भएको गोलीकाण्डको अभियोगमा पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा रहेको समयमा कारागारभित्रै हत्या गरिएको थियो ।
२०६८ साल मंसिर २० गते पौडेलमाथि आक्रमण भएको थियो । आक्रमणमा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि हत्यारा प्रमाणित भई २० वर्ष जेल सजाय भोगिरहेकाहरुलाई अहिले आममाफी दिइएको हो ।
उनीहरुलाई आममाफी भएपछि परिवारले देशमा न्याय हराएको महसुस गरिरहेको पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड बढाउन ज्यानमाराहरुलाई आममाफी दिइएको आरोप लगाइन् । पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको राष्ट्रपति भएको अरोप लगाइन् ।
पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा अहिले आममाफी पाएका तीनै जनालाई पाँच÷पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुले गोविन्दको वि.सं २०६६ साल जेठ ३ गते हत्या गरेका थिए । कारागारमा रहेको समयमा सोही समुहले शिव पौडेललाई कारागारमा नै रहेका सामग्रीहरुको प्रयोग गरी हत्या गरेका थिए ।
पौडेलका छोरा शिविनजंग पौडेलले कारागारभित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफीका नाममा दिइएको उन्मुक्तिले आफूहरुलाई त्रास बढाएको बताए । पौडेलद्वयका दाजु तारा पौडेलले राज्य दण्डहीनताको पक्षमा गएको बताए । अहिलेको अवस्थामा कानुनी रुपमा अघि बढ्ने उनको भनाइ छ । आफूहरु मन्त्रीपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध कानुनी लडाईंमा जाने पौडेलले जानकारी दिए । गोविन्द पौडेलकी श्रीमती रिता पौडेलले आफूहरु संयुक्तरुपमा कानुनी लडाईंमा जाने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ फागुन २०७७, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी