प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले फेरी दिए विवादित बयान, भन्छन :  उपराष्ट्रपति र सभामुखको ‘कर्तव्यच्यूत रवैया’

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, ०७ : ५६
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले फेरी दिए विवादित बयान, भन्छन :  उपराष्ट्रपति र सभामुखको ‘कर्तव्यच्यूत रवैया’

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले प्रदेश २ का प्रदेश प्रमुखको शपथ बहिस्कार गरेको भन्दै कटाक्ष गरेका छन् । नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै पुन र सापकोटाले शुक्रबारको शपथ बहिस्कार गरेका थिए । 

‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन’, सल्लाहकार थापाले भने, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) मा हिँड्नु झन् गैरजिम्मेवारी हो ।’

अझ सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त उपराष्ट्रपतिले मिल्दै नमिल्ने उनको भनाइ छ । ‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो’, उनले भने, ‘बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार  र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ।’

गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई  विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै  राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहेको भन्दै उनले आक्रोशित हुँदै उनले भनेका छन्, ‘टाँस्सिइरहने ?

सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने –यो के रवैया हो ?’ उनले अगाडि प्रश्न गरेका छन्, ‘राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’

प्रतिक्रिया दिनुहोस