उपराष्ट्रपति पुनबाट ल्होसारको शुभकामना

रासस

शुक्रबार, ३० माघ २०७७, ०७ : ४२
उपराष्ट्रपति पुनबाट ल्होसारको शुभकामना

file Photo

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताउनुभएको छ । 

तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ र शेर्पा तथा हिमाली आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्वो ल्होसार–२१४८ आइपुगेको उहाँले उल्लेख गर्नुभएको छ । 

उपराष्ट्रपतिले मुसा वर्गको बिदाइ र गाई÷गोरु वर्गको स्वागत गरी मनाइने सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । 

सोनाम ल्होसार र ग्याल्बो ल्होसारका अवसरमा देशविदेशमा रहनुभएका तामाङ, शेर्पा, हिमाली आदिवासी दिदीबहिनी तथा दाजुभाई र आम नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्पष्ट पार्नुभयो । 

हिमाल, पहाड, तराई–मधेशको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरव भएको उहाँको भनाइ छ ।

सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ । 

काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभुषासहितको पहिचान छ । उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको छ । हिमाली भेग आदिम थलो भएका शेर्पा समुदाय भाषा, धर्म, संस्कृति, पम्परा तथा सभ्यतामा धनी समुदाय हो ।”

हिमाल आरोहण तथा पर्यटनका माध्यामबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो शक्ति शेर्पा समुदाय  रहेको र  हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायलगायतका आदिवासी जनजातिका वेषभूषा, भाषा, धर्म संस्कृति, रहनसहनले त्योभन्दा बढी सुन्दर बनाएको उपराष्ट्रपतिको भनाइ छ । 

नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याउनुका साथै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा उपराष्ट्रपतिले गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस