रामकुमारीहरुले गणतन्त्रको नारा घन्काउँदा पार्टीभित्रैबाट हुन्थ्यो कारबाहीको माग

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : ०९
रामकुमारीहरुले गणतन्त्रको नारा घन्काउँदा पार्टीभित्रैबाट हुन्थ्यो कारबाहीको माग

काठमाडौं । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरे र नयाँ सरकार बन्न केही समय लाग्ने भन्दै मुलुकको कार्यकारी अधिकार आफूमा निहित रहने घोषणा गरे ।

ज्ञानेन्द्रले उक्त घोषणा गर्नेबित्तिकै रत्नपार्कमा गएर तत्कालीन एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईसहितको टोलीले राजाविरुद्ध नारा लगायो, टोलीमा तत्कालीन अनेरास्ववियुकी प्रचार विभाग प्रमुख रामकुमारी झाँक्री पनि थिइन् । त्यतिखेर राईले भनेका थिए, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’

त्यसपछि विद्यार्थीले क्रमशः आन्दोलनको उभार ल्याए । रामकुमारी झाँक्रीहरूले सडकबाटै गणतन्त्रको नारा घन्काउँदा पार्टीको एजेन्डाबाहिरको नारा लगाएको भनेर कारबाही गर्न माग गर्नेहरू अहिले राजकाजमा छन् ।

सडकमा झाँक्रीसहितका विद्यार्थीले गणतन्त्रको नारा घन्काउन सुरु गरेको निकै पछि २०६२ भदौमा नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गणतन्त्रका लागि संयुक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव पारित गरेको हो ।

त्यतिखेर अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रका लागि संघर्ष गर्ने पार्टी लाइनको विपक्षमा थिए । त्यही बैठकमा ओलीले यो आन्दोलनबाट गणतन्त्र ल्याउनु बयलगाडामा चढेर अमेरिका जानुसरह हो भनेका हुन् ।

गणतन्त्रका लागि संघर्ष गर्ने पार्टी निर्णयमा तत्कालीन एमालेका केन्द्रीय कमिटी सदस्य एवं अहिलेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र मुकुन्द न्यौपानेले लिखित रूपमै फरक मत दर्ता गराएका थिए ।

झाँक्रीहरूले गणतन्त्रका लागि टाउको फुटाइरहँदा यो पार्टीको लाइन हुनै सक्दैन भनेकी तत्कालीन अखिल नेपाल महिला संघकी अध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्रको व्यवस्थाबमोजिम नै मुलुकको राष्ट्रपति भएकी हुन् ।

गणतन्त्र ल्याउन आन्दोलनको अग्रमोर्चामा रहेकी उनै झाँक्रीलाई राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरीले बिहीबार हिरासतमा लियो । उनीमाथि राज्यविरुद्ध कसुर गरेको अभियोग लगाउन खोजियो । यद्यपि सर्वत्र विरोधपछि त्यो सफल भएन, बिहीबार साँझ उनलाई रिहा गरियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस