वामदेव गौतमसँग चिनियाँ राजदुतको सुटुक्क भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०९ : ५८
वामदेव गौतमसँग चिनियाँ राजदुतको सुटुक्क भेटवार्ता

काठमाडौं । नेकपा विभाजनमा कतै नखुली पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका नेता वामदेव गौतमसँग नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले सुटुक्क भेटवार्ता गरेकी छिन् । नेकपा विभाजनबाट चिन्तित देखिएको चीनले विभाजित नेकपालाई एक बनाउन गरेको प्रयास असफल भईरहेका बेला गौतमसँग राजदुत यान्छीले भेटवार्ता गरेकी हुन् ।

उनले हिजो दिउँसो गौतमसँग गौतमको छोराको नाममा नक्सालमा खोलिएको सम्र्पक कार्यालयमा भेटवार्ता गरेकी हुन् । चीन नेकपालाई अझै पनि एक कसरी बनाउन सकिन्छ भन्नेमा जुटिरहेको छ । नेकपा विभाजनले नेपालभित्र अस्थिरता मात्र ल्याउने र त्यसको असर आफ्नो देशको स्वसासित क्षेत्र तिब्बतमा समेत पर्न सक्ने ठानी चीन चिन्तित देखिएको हो । नेपालको अस्थिरतामा भारत लगायतका यूरोप अमेरिकी लगायतका देशहरुको प्रभाव बढ्न सक्ने र नेपाललाई खेल मैदान बनाउदै आफ्नो भूमिमा समेत अस्थिरता निम्ताउन सक्ने ठानी चीन सदैव चनाखो रहदै आएको छ । 

गौतमसँग राजदुत यान्छीले गरेको सुटुक्कको भेटवार्तामा के अझै नेकपा एकताको सम्भावना देखिन्छ ? त्यो कसरी हुन सक्छ ? भन्ने बारेमा उनले जिज्ञासा राखेकी स्रोतले बताएको छ ।

उसले त्यही भएर पनि नेपाल मामला पछिल्ला दिनमा असाध्यै चासोका साथ हेर्न थालेको छ । आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीसँगको भाइचारा सम्बन्ध समेत रहेका कारण पनि नेकपा विभाजनलाई रोक्न उसले निक्कै कसरत गरेको थियो । विवाद मिलाउन राजदुत यान्छी आफै प्रधानमन्त्री, राष्ट्रपति, नेकपा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल देखि अन्य शीर्ष नेताहरुसँग प्रत्यक्ष भेटवार्तामा जुटेकी थिइन् ।

विभाजनको चक्रमा रहेकै बेला चीनले आफ्नो विशेष प्रतिनिधीलाई चार दिने नेपाल भ्रमणमा पठाएर नेपालकै धरातलमा रहेर नेकपा भित्रको विभाजनको कारण खोतल्ने प्रयास समेत चीनले गरेको थियो । दुवै पक्षका पूर्व शर्त एकताका लागि बाधक रहेको निश्र्कष सहित विशेष उच्चस्तरीय टोली फर्केपनि राजदुत यान्छीको भेटवार्ता भने रोकिएको छैन् । यही क्रममा उनले कतै नखुली एकता अभियानको घोषणा गरेका नेता वामदेव गौतमसँग सुटुक्क भेटवार्ता गरेकी हुन् । उनले हिजो दिउँसो गौतमसँग झण्डै एक घण्टा भलाकुसरी गरेको चिनियाँ दुतावास स्रोतले सफलखबरलाई जानकारी दिएको छ । 

त्यस अगाडी उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत सिंहदरवारस्थित कार्यकक्षमै पुगी १६ माघमा भेटवार्ता गरेकी थिइन् । उनले केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी ओलीलाई पनि बालुवाटारमा पुगेर गोप्य भेटघाट गरेको बताईएको छ । प्रधानमन्त्री ओलीले तल्लो अरुण बनाउने जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको भोलिपल्टै यान्छीले प्रधानमन्त्री ओलीसँग राती १० बजेपछि बालुवाटार पुगेर भेट गरेकी थिइन् । 

प्रचण्डसँग पनि केही दिन अगाडी मात्रै उनले भेट गरेकी थिइन् । प्रचण्डसँग पनि अझै एकताका सम्भावना खोज्ने बारेमा उनले कुरा गरेकी थिइन् । चीन अहिले नेकपा विभाजनमा ओलीको हठ मुख्य जिम्मेवार रहेको बुझाईमा देखिन्छ । तर पनि उसले यो बाहिर बोलिरहेको छैन् । गौतमसँग राजदुत यान्छीले गरेको सुटुक्कको भेटवार्तामा के अझै नेकपा एकताको सम्भावना देखिन्छ ? त्यो कसरी हुन सक्छ ? भन्ने बारेमा उनले जिज्ञासा राखेकी स्रोतले बताएको छ । गौतमले भने आफु त्यसैका लागि लागिरहेको र त्यसका लागि सहयोग गर्न चिनियाँ पक्षलाई पनि आग्रह गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस