पूर्वजनमुक्ति सेनाप्रति ओलीको दोहोरो रणनीति : वर्षमान पुन

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, ११ : ३६
पूर्वजनमुक्ति सेनाप्रति ओलीको दोहोरो रणनीति : वर्षमान पुन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न पूर्वमाओवादी लडाकुप्रति ‘गोहीको आँसु’ चुहाएको नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले टिप्पणी गरेका छन्।

पुनले यसअघि पूर्वजनमुक्ति सेना, अयोग्य लडाकु र सहिदका परिवारले लामो समय न्यायका लागि आन्दोलन गर्दा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनुवाइ नगरेको बताएका छन्। आफूले उनीहरुको विषयमा लगातार ३ वर्ष मन्त्रिपरिषदमा कुरा उठाउँदा सुनुवाइ नभएको पनि उनले बताएका छन्।

तर अहिले आफ्नो समूहमा तान्न प्रधानमन्त्री ओलीले लोभ देखाएको पुनको दाबी छ। गृहमन्त्री थापाले घाइतेहरूले पाइरहेको जीवनवृत्ति भत्तासमेत खोसेको नेता उनको आरोप छ। उनले भने, ‘बादलजीले ७५ प्रतिशतभन्दा बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो। ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो।’

पूर्वमन्त्रीसमेत रहेका पुनले अगाडि भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छ हुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घचघच्याउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौ।’

डा। बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेकै बेला बहिर्गमित लडाकुहरूका लागि २ लाख रुपैयाँको राहत प्याकेज घोषणा गर्दा अहिले ओली समूहमा रहेकाहरूले नै सर्वोच्च अदालतमा रिट दिएको र मुद्दा अझै फैसला नभएको पुनले बताए। आफूले मन्त्रिपरिषदमै २००७ सालदेखि झापा आन्दोलन, कांग्रेसको मुक्ति आन्दोलन, ०४६ सालको आन्दोलन, जनयुद्ध र १९ दिने जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने माग राख्दा अस्वीकार गरिएको पनि पुनले सुनाए।

तर, अहिले आफू कमजोर भएपछि गुटमा तान्न पीडितहरूप्रति नक्कली सहनुभूति नदेखाउन र विचलित मानसिकताका साथ उनीहरूको भावनामा खेल्ने प्रयास नगर्न पनि नेता पुनले ओली समूहलाई चेतावनी दिए। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर जनताको अभिमतको अवहेलना गरेको भन्दै उनले अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस