‘जोखिम मोलेर काम गर्‍यौं, सुरुमै खोप लगाउन पाउँदा खुसी छौं’

पत्रपत्रिकाबाट

विहीबार, १५ माघ २०७७, ०७ : ३९
‘जोखिम मोलेर काम गर्‍यौं, सुरुमै खोप लगाउन पाउँदा खुसी छौं’

काठमाडौँ । प्रायः बिरामी भरिभराउ रहने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार माहोल फरक थियो । गेटभित्र प्रवेश गर्नेबित्तिकै ध्वजापताकाले अस्पताल परिसर ढाकिएको देखिन्थ्यो ।

अस्पताल विवाह महोत्सवभन्दा कम देखिएको थिएन । कोरोना विरुद्धको खोप अभियान सुरु हुने समयको व्यग्र प्रतिक्षामा देखिन्थे चिकित्सक, कर्मचारीलगायत । करिब एक वर्ष अगाडि कोरोना संक्रमितको पहिलो उपचार यही अस्पतालबाट सुरु भएकोले पनि यो ऐतिहासिक दिन थियो ।

खोप लगाउन स्वास्थ्यकर्मीहरुको मुहारमा उत्साह सहजै झल्किएको देखिन्थ्यो । कार्यक्रमस्थलमा उभिरहेका स्वास्थ्यकर्मीहरु डर र खुसी दुवै लागेको अनुभव गरिरहेको बताइरहेका थिए ।ठीक १० बजे अस्पतालका निर्देशक डा सागरराज भण्डारी तथा कर्मचारीहरुले खोप कार्ड देखाएर ताली पिटी अभियान शुभारम्भ गरे । सबैभन्दा सुरुमा डा। भण्डारीले खोप लगाए ।

खोप लगाउन पाउँदा उनी निकै हर्षित मुद्रामा देखिन्थे । लगाइसकेपछि उनले यो खोप सुरक्षित रहेको र यसबाट नडराउन आग्रह गरे । ‘मानिसमा खोपबारे डर र त्रास हुनु सामान्य हो तर यो खोप सुरक्षित र प्रभावकारी छ । मैले निर्धक्कसाथ लगाएँ । त्यसैले सबैले सुरक्षित साथ लगाउनुहोला,’डा भण्डारीले भने । त्यसपछि क्रमशस् डा अनुप बास्तोला, डा वासुदेव पाण्डे, डा रुणा झालगायत व्यक्तित्वहरुले पनि पालैपालो कोरोना खोप लगाए । सबैभन्दा पाका उमेरमा खोप लगाउनेमा थिए अस्पतालका ८० वर्षीय रेडियोलोजिस्ट कन्सल्टेन्ट नेत्रबहादुर अमात्य ।

अस्पतालका सरुवा रोग विशेषज्ञ तथा प्रवक्ता डा अनुप बाँस्तोलाले १ वर्षदेखि अहोरात्र खटेर जोखिम मोले । कति स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यान नै गुमाए त कति अवहेलना सहे । बिरामीको सेवामा समर्पित रहेकाहरु कोरोनाविरुद्धको खोप लगाउन अवसर पाएकोमा उत्साहित भएको बताए । ‘एक वर्षको पर्खाइमा आज भ्याक्सिन लगाइयो । हालसम्म पीसीआर पोजिटिभ नभएको र एन्टिबडी पनि देखिएको छैन । जोखिममा छु जस्तो लाग्थ्यो । खोप लगाइसकेपछि डर हटेको जस्तो लागेको छ’डा बास्तोलाले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस