‘काजीबा’को देवघाटमा अन्त्येष्टि : अभिभावक गुम्यो, शोकलाई शक्तिमा बदल्छौँ : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १६ : ४५
‘काजीबा’को देवघाटमा अन्त्येष्टि : अभिभावक गुम्यो, शोकलाई शक्तिमा बदल्छौँ : प्रचण्ड

चितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’को आज दिउँसो देवघाटमा अन्येष्टि गरिएको छ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत उपस्थितिमा कुँवरको अन्त्येष्टि गरिएको हो ।

अध्यक्ष प्रचण्डले कुँवरको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् । अध्यक्ष प्रचण्डले देवघाटमा काजीबाको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीले एउटा होनाहार अभिभावक गुमाएको बताए । उनले भने, ‘पार्टीबाहेक उहाँले केही सोच्नुहुदैनथ्यो, पार्टीलाई नै क्षति भयो, आज हामी गहिरो शोकमा छौँ । यस शोकलाई शक्तिमा बदल्छौँ ।’

अध्यक्ष प्रचण्डले देवघाटमा काजीबाको परिवारसँग केही बेर भलाकुसारीसमेत गरेका थिए । अध्यक्ष प्रचण्डले काजीबाको अत्येष्टि गर्दा र तत्कालीन उपचारमा लागेको खर्च पार्टीले व्यहोर्ने बताए । काजीबाको परिवारले अध्यक्ष प्रचण्डसँग पछिल्लो समयको स्वास्थ्यअवस्थाबारे जानकारी दिएका थिए । काजीबाका परिवारले भने, ‘उहाँले पछिल्लो समय बिरामी भएको समयमा पनि पार्टीलाई ठूलो धोका भयो भन्नुहुन्थ्यो, धोका भयो भन्दाभन्दै उहाँको प्राण गयो ।’ 

देवघाटमा परिवारले यस्तो बताइरहँदा अध्यक्ष प्रचण्ड मौन भएर सुनिरहेका थिए । अध्यक्ष प्रचण्डले भने, ‘मैले अघिल्लो पटक भेट्दा तगडै हुनुहुन्थ्यो, अचानक यस्तो भयो, पछिल्लो राजनीतिक अवस्थाबारे केही सुझाव दिनुहुन्थ्यो होला, सुझाव लिने समय नै मिलेन, आखिरी जानुभयो ।’
पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा आज बिहान भरतपुर अस्तपतालमा निधन भएको छ । कुँवर विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मेका हुन् । उनी हाल भरतपुर १० मा बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस