प्रतिनिधिसभा विघटनको विरुद्धको नागरिक आन्दोलनमाथि निर्मम दमन

पत्रपत्रिकाबाट

मंगलबार, १३ माघ २०७७, ०७ : ५५
प्रतिनिधिसभा विघटनको विरुद्धको नागरिक आन्दोलनमाथि निर्मम दमन

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनप्रति सरकार निर्मम दमनमा उत्रिएको छ । बृहत् नागरिक आन्दोलन र मानव अधिकारवादीले सोमबार गरेका छुट्टाछुट्टै कार्यक्रममा सरकारले अत्यधिक बल प्रयोग गरेको हो ।

बृहत् नागरिक आन्दोलनको कमलपोखरी–बालुवाटार मार्चपासमा सहभागी कवि, कलाकार, लेखक, पत्रकार, कानुन व्यवसायी, बुद्धिजीवीलगायतलाई प्रहरीले प्रधानमन्त्री निवास बालुवाटारको करिब पाँच सय मिटरवरै रोकेर अन्धाधुन्ध लाठी बर्साउनुका साथै पानीका फोहरा प्रहार गरेको थियो । प्रहरीको कुटाइबाट दर्जनभन्दा बढी घाइते भएका छन् । नागरिक आन्दोलनले ६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

मार्चपासमा सहभागी लेखक तथा अभियन्ता सञ्जीव उप्रेतीले नागरिकका आवाज नियन्त्रण र निरंकुश शासनको अभ्यासअन्तर्गत सरकार अघि बढेको बताए । ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध सरकारलाई यसो नगर, नागरिकका हक–अधिकारको संरक्षण गर, संविधान पालना गर भनेर हामी शान्तिपूर्ण रूपमा जानकारी गराउन गएका थियौं तर सरकार बल प्रयोगमा उत्रियो, यसले बाहिर जति नै प्रजातन्त्र, लोकतन्त्रका भाषण गरे पनि नागरिकका आवाज बन्द गर्ने सरकारको नियत छताछुल्ल भयो,’ उनले भने ।

उप्रेतीले प्रतिनिधिसभा विघटनपछि सरकारको आत्मबल कमजोर मात्रै होइन, हतास मनस्थितिमा पुगेका कारण बल प्रयोगको नीतिमा अघि बढेको आरोप लगाए । ‘प्रजातन्त्र बलियो भएका मुलुकमा नागरिकका हक–अधिकार र फरक मत राख्नेका आवाज सुनिन्छन्,’ उनले भने, ‘तर सरकारको पछिल्लो रवैया हेर्दा फरक मत राख्नेका आवाज सुन्न होइन, सरकार निरंकुश शासनबाट अघि बढ्न चाहेको पुष्टि हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस