‘ओलीलाई सच्याउन सकिएन’

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, ०७ : ४६
‘ओलीलाई सच्याउन सकिएन’

काठमाडौँ । प्रदेश २ र काठमाडौं आसपासका जिल्लाबाट समेत आएका आन्दोलनकारी बिहान ११ बजेदेखि नै सडकमा निस्किँदा राजधानीको यातायात अस्तव्यस्त बन्यो । रात्रिबस चढेर आएकासहित राजधानीका १० ठाउँबाट निस्किएको जुलुस भृकुटीमण्डपतिर अघि बढेपछि आसपास क्षेत्र आन्दोलनकारीले भरिभराउ भयो ।

त्यही भीडमा मिसिन आएका महोत्तरीका श्रीराम हृदय महतो भन्दै थिए, ‘प्रधानमन्त्री बनाएर पनि केपी ओलीले हामी गरिबका लागि केही काम नगरेकाले विरोध गर्न आएका हौं ।’ उनीजस्ता थुप्रै कार्यकर्ताले शुक्रबार भृकुटीमण्डप आसपासको क्षेत्र खचाखच भएपछि जुलुसको नेतृत्व गर्दै मञ्चमा पुगेका नेताहरूले भने, ‘यो जुलुसले दोस्रो जनआन्दोलनको झझल्को दियो ।’

प्रदर्शनकारीको भीड बढ्दै गएपछि सडकमात्रै होइन, र्‍यालीसमेत अस्तव्यस्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरेपछि आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौं केन्द्रित दोस्रो प्रदर्शन गरेको हो । यसलाई उनीहरूले दोस्रो जनआन्दोलनजस्तै सशक्त भनेर व्याख्या गरेका छन् ।

यसअघि गत पुस १४ गते काठमाडौंमा विरोध प्रदर्शन गरेपछि दाहाल–नेपाल समूहको आन्दोलन काठमाडौं बाहिरका जिल्लामा केन्द्रित भएको थियो । पार्टी एकीकरण भएयता नै धेरै पटक मतभिन्नता राख्दै आएका नेकपाका नेताहरू प्रतिनिधिसभा विघटनपछि व्यावहारिक रूपमा अलग भएका हुन् । त्यसपछि नेकपाको यो खेमा कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाज ओलीको कदमविरुद्ध केन्द्रित छन् । प्रतिनिधिसभा पुनःस्थापित नहुँदासम्म आन्दोलन अघि बढाउने उनीहरूले बताएका छन् ।

र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले राजा–महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले ओलीलाई पनि त्यसैगरी बहिर्गमन गराउने बताए । संविधान बनिसकेपछि देश विकासको गतिमा गएको भनेर सोचिए पनि त्यो सम्भव नभएकाले आत्मआलोचनाका लागि जनताबीच आएको उनको भनाइ थियो । ‘स्थायित्व सुनिश्चित भएर अबको दशक विकास र समृद्धिको हुनेछ र सामाजिक न्याय दिनेछौं भनेर सोचेका थियौं,’ दाहालले भने, ‘तर हामीले ती सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौं ।’ उनले ओलीसँग गरेका सहमतिलाई सुरुदेखि नै दायाँबायाँ हुन नदिएको भए यो परिस्थिति नै नआउने बताए ।

‘सुरुदेखिको सहमतिलाई दायाँबायाँ हुन नदिएको भए केपी बेलैमा नांगिन्थे कि १,’ उनले भने, ‘हामीले सचिवालय र स्थायी कमिटीमा संघर्ष नगरेको होइन तर हाम्रो संघर्षले उनलाई सच्याउन सकिएन र हामी हाम्रो पनि समीक्षा गर्ने चरणमा पुग्यौं ।’ प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसँगै शान्ति प्रक्रियालाई विघटन गर्न चाहेको दाहालको भनाइ थियो । ‘ओलीको असंवैधानिक कदम नसच्चिँदासम्म यसरी नै शान्तिपूर्ण तरिकाले आन्दोलन गर्छौं,’ उनले भने, ‘केपीको निरंकुशतालाई प्रोत्साहन गर्ने षड्यन्त्र भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका विषयमा सरकारले पूर्ण रूपमा आममाफी नदिने बताएकै भोलिपल्ट दाहालको यो अभिव्यक्ति आएको हो ।

दाहालले गणतन्त्र र संविधान रक्षाका विषयमा बोल्दै आए पनि शान्ति प्रक्रिया नै विघटन हुने सम्भावना रहेको अभिव्यक्ति यो आन्दोलनमा पहिलोपटक दिएका हुन् । ओलीले जालझेल गरेर जनमुक्ति सेनाहरूलाई फसाउन खोजेको आक्षेप उनले लगाए । ‘मार्क्सवादले भनेको छ, आन्दोलन भनेको जनताका लागि उत्सव हो तर ओलीजी आन्दोलन भनेपछि रुन थाल्नुहुन्छ, २०६२र०६३ मा पनि त्यसै गर्नुभयो,’ दाहालले भने, ‘अहिले देश शोकमग्न छ, संविधान आईसीयूमा छ, उहाँ हँसाउँदै हिँड्नुभएको छ ।

यस्तो उल्टो खोपडीको मान्छे नेपालका कसरी छन् रु’ उनले लोकतन्त्रको पक्षमा रहने कसैले पनि ओलीको कदमलाई ठीक नभनेको उल्लेख गर्दै आफूलाई सर्वोच्च अदालतमाथि भरोसा रहेको बताए । ‘उनीहरूले सबैतिर सेटिङ गरेका छौं भनेका छन्, त्यस्तो हो भने पनि षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको नयाँ सेटिङ खडा हुनेछ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।