फेक न्यूजको सहारामा नेताहरुको भाषण

प्रधानमन्त्री ओलीकै भाषण झुटो समाचारमा आधारित

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ माघ २०७७, ०७ : ५६
प्रधानमन्त्री ओलीकै भाषण झुटो समाचारमा आधारित

काठमाडौँ । विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए । उनले दाहाल–नेपाल समूहका नेता भिम रावलतिर संकेत गर्दै उनले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो भनेर भनेको आरोप लगाउँदै भने, ‘महिलामाथि कत्रो अपमान । लेख्या छन डा। १’

प्रधानमन्त्रीले आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको यही झूटको सहारा लिएर लाञ्छना लगाउने काम १९ पुसमा कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियुको कार्यक्रममा पनि गरेका थिए । ओलीकै शैली पछ्याउँदै २३ पुसमा राष्ट्रिय सभाको बैठकमा विमला पौडेलले पनि फेक न्युजलाई पत्याउँदै भाषण ठोकेकी थिइन् । उक्त दिन उनले महिलाको अंग परेको कारण प्रधानमन्त्रीको दिमाग खुस्किएको छ भनेर एकजना माननीयले भनेको भन्दै भाषण सुरु गरिन् । उनले यस्तो कसले भन्यो भनेर नाम त तोकिनन् तर उनले अन्तिममा भनिन, ‘मेरो अनुरोध छ नेताज्यूहरुलाई बोल्दा खेरी राजनीतिक संस्कार सम्झेर बोल्नुस् । होइन भने राजनीति छोडदिनुस् ।’

पौडेलले संकेत गर्न खोजेका माननीय थिए, नेकपाका दाहाल–नेपाल समूहका भिम रावल । १३ पुसमा नै रावलले धनगढीमा आयोजित एक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई तोडमोड गरी एक अनलाइनले समाचार राखेपछि त्यो भाइरल भएको थियो । ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन भनेर रावलले बोलेको भन्दै केही अनलाइनले समाचार सार्वजनिक गरेका थिए ।

तिनै समाचारमा विश्वास मान्दै रावलप्रति सामाजिक सञ्जालमार्फत थुप्रै मानिस खनिएका थिए । १४ पुसमा सेन्टर फर मिडिया रिसर्च र माइसंसारले भाइरल भएको उक्त अभिव्यक्तिको तथ्य जाँच गरी नेता रावलले उक्त भाषणमा त्यस्तो नबोलेको र हचुवाको भरमा केही भिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेर भाइरल बनाएको तथ्य उधिनेको थियो । लगत्तै रावलले पनि सामाजिक सञ्जालमार्फत नै आफूले बोल्दै नबोलेको कुरामा अफवाह फैलाइएको भन्दै स्पष्टीकरण पनि दिए ।

राष्ट्रिय सभामा पौडेलले झूटो खबरमाथि विश्वास गरेर बोल्नुका अघि नै १९ पुसमा प्रधानमन्त्री ओलीले यही झूटमाथि टेकेर लाञ्छना लगाएका थिए । जबकी प्रधानमन्त्रीले त्यस्तो आरोप लगाउनुअघि नै फेक न्युज फैलिएको तथ्यसहित पुष्टि भइसकेको थियो । तर ओलीले त्यसलाई नजरअन्दाज गर्दै सोही विषयलाई सत्य झै मानेर भाषण दिए । विरोधीप्रति निर्मम रुपमा प्रस्तुत हुन रुचाउने ओलीले कार्यक्रममा नेता रावलको नाम त लिएनन् तर फेक न्युजमाथि नै टेकेर भने, ‘एउटा नेताले चर्को भाषण गरेछ । केपी ओलीमा महिलाको किड्नी लगाएर दिमाग नै बिग्रियो भनेर ।’ फेक न्युजलाई विश्वास गरेका ओली यतिमै अडिएनन् । उनले थपे, ‘महिलामाथि कत्रो अपमान हो । महिलाको त किड्नीमात्र लगायो भने पनि मान्छे पागल हुन्छ अरे ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस