बालगृहमा संरक्षित बालिकाहरुका लागि न्यानो सहयोग

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, १३ : ३९

– अजय गोर्खाली
चितवन । भरतपुर–१२ स्थित सगरमाथा बालगृहमा संरक्षित बालिकाहरुका लागि न्यानो सहयोग प्राप्त भएको छ । मित्र मिलन समूह (२०३६) बालकुमारी माध्यमिक विद्यालय, नारायणगढको तर्फबाट बालिकाहरुलाई सिरक, डसना, सिरानी लगायतका सामग्री उपलब्ध भएको हो ।

२०७३ सालमा स्थापना भएको उक्त बालगृहमा शक्तिखोरका विपन्न, अनाथ चेपाङ बालिकाहरु आवासीय सुविधासहित बसेर विद्यालय शिक्षा हासिल गरिरहेका छन् । स्थानीय मोहन माविमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत १२ जना बालिकाहरु अहिले यहाँ संरक्षित छन् । 

बालगृहकी सल्लाहकार समेत रहेकी मित्र मिलन समूह (२०३६) की द्वितीय उपाध्यक्ष छाया श्रेष्ठको संयोजनमा संरक्षित बालिकाहरुलाई जाडोमा न्यानो ओढ्ने, ओछ्याउनेसहित लगाउने कपडासमेत वितरण गरिएको हो । आइतबार बिहान अध्यक्ष गंगा राजभण्डारीसहित समूहका सचिव निरञ्जनप्रकाश जोशी, कोषाध्यक्ष दीपक शाही ठकुरी, सह–कोषाध्यक्ष रामचन्द्र पिया, सदस्यहरु अरुणकुमार श्रेष्ठ र लिलाराम सुवेदी बालगृहमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा डा. सुलव राजभण्डारीको पनि उपस्थिति रहेको थियो । 

१३ थान सिरक, २ थान डसना, २ थान सिरानी सहित जाडोमा न्यानो हुने खालको कुर्तासलवारको कपडा पनि सबै बालिकाहरुलाई प्रदान गरिएको थियो । साथै, कुर्ता सिलाउन ज्यालाका लागि भनी नगद रु. चार हजारसमेत र भुजा, बिस्कुट लगायतका केही खानेकुरा पनि दिइयो । सहयोग ग्रहण गर्दै बालगृहका संस्थापक अध्यक्ष तथा हालका उपाध्यक्ष जेबी लामाले विपन्न, अनाथ बालिकाहरुको सहयोगका लागि बालगृहको अवस्था बुझेर यो जाडोमा न्यानो सामग्री प्रदान गर्ने सहयोगी संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गरे । 

यहाँ संरक्षित यी बालिकाहरुलाई पढाएर, लेखाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाएरमात्रै छोड्ने संस्थाको ध्येय रहेको छ । उनीहरुलाई आगामी दिनमा पनि विभिन्न सहयोग गर्दै जाने मित्रमिलन समूहले बताएको छ । यो बालकुमारी मावि नारायणगढबाट २०३६ सालमा एसएलसी दिएको समूह भएको सचिव निरञ्जनप्रकाशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस