हाइड्रोजन इन्धनको खोजीमा जुट्यो आयल निगम

पत्रपत्रिकाबाट

सोमबार, ०५ माघ २०७७, ०७ : ४८
हाइड्रोजन इन्धनको खोजीमा जुट्यो आयल निगम

काठमाडौँ । डिजेल र पेट्रोलका कारण प्रदूषणको मात्रा बढ्दै गएका समाचार यति बेला नौला रहेनन् । प्रदूषण नियन्त्रण गर्न भनेर विकसित मुलुकले वैकल्पिक उपायबारे खोजअनुसन्धान गरिरहेका छन् । जापान, कोरिया, जर्मनीलगायत मुलुकले हाइड्रोजन इन्धन प्रविधि प्रयोग गर्न थालिसकेका छन् ।

छिमेकी मुलुक भारतकै भारतीय आयल कर्पोरेसन ९आईओसी०ले हाइड्रोजन इन्धनबाट चल्ने १५ वटा गाडी बनाउन अर्डर गरिसकेको छ । फोसिल फ्युलको भविष्य उज्ज्वल नदेखेपछि नेपाल आयल निगमले पनि यसको विकल्प खोज्न थालेको छ । यस विषयमा थप अध्ययन अनुसन्धानका लागि गत पुस २४ मा काठमाडौं विश्वविद्यालय ९केयू० सँग एमओयूसमेत गरिएको निगमले जनाएको छ ।

‘२०३० पछि फोसिल फ्युलको भविष्य अन्धकार छ । धेरै मुलुकले यसलाई बन्देज पनि लगाउँदै छन् । अबको विकल्प हाइड्रोजन इन्धन नै हो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘हाइड्रोजन इन्धन अहिले रकेटमा प्रयोग गरिन्छ । आईओसीले टाटा कम्पनीलाई हाइड्रोजन इन्धन प्रयोग हुने १५ वटा गाडी बनाउन अर्डर गरिसकेको छ । नेपालमा पनि सम्भावना देखेर थप विस्तृत अध्ययनका लागि केयूसँग एमओयू गरेका हौं ।’

नेपालमा सम्भावना देखिए प्रविधि ल्याएर पाइलटिङ गरिने निगमले जनाएको छ । हाल केयूमा ग्रिन हाइड्रोजन ल्याब सञ्चालनमा छ । थप अध्ययनका लागि ल्याबमा सहयोग गर्ने गरी एमओयू गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । ‘निगमले ल्याबमा सहयोग गर्न लागेको हो । सम्भाव्यता हेरेर उत्पादन नै गर्ने हाम्रो योजना हो,’ उनले भने । यद्यपि हाइड्रोजन इन्धन उत्पादनका लागि कति खर्च लाग्छ भन्ने अध्ययन भइसकेको छैन । कानुन पनि बनिसकेको छैन । केयूसँगको सम्झौतापछि कानुन बनाउने, हाइड्रोजन इन्धनको नीति, लागतलगायतको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।

निगमका अनुसार हाइड्रोजन इन्धनका लागि विद्युत् पनि आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग सम्झौता गरिनेछ । ‘जापानले तीन वर्षभित्र हाइड्रोजन गाडी उत्पादन गर्दै छ । हाइड्रोजन इन्धनको अध्ययन र उत्पादन सुरु गरिएन भने फेरि आयातमै निर्भर हुनुपर्ने बाध्यता आउँछ,’ पौडेलले भने, ‘नेपालमा गाडीको प्रयोग गर्न समय लाग्न सक्छ । तर यहाँ हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यात गर्न भने सकिन्छ । यसका लागि वातावरण बने ठूलो लगानी भित्रिन्छ, यसको भविष्य पनि राम्रो छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस