परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण : सीमा विवादबारे छलफलै नहुने

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, ०९ : २३
परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण : सीमा विवादबारे छलफलै नहुने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल भारत मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारत भ्रमणमा पुगेका छन् । उनी बिहिबार नै भारत भ्रमणमा गएका हुन् । तीन दिने भ्रमणको कार्यतालिका बनाएर दुई देशका मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली पुगेपनि नेपालले भारतसँग उठाउनु पर्ने महत्वपूर्ण विषय लिम्पियाधुरा सम्मको नेपाली भूमि फिर्ताको विषयमा भने त्यहाँ कुनै छलफल संस्थागत रुपमा नहुने भएको छ ।

आफुलाई बाहिर देखाउँदा राष्ट्रवादी देखाउने तर भित्री रुपमा भारतको संस्थापन पक्षको कसरी साथ लिने र विश्वास जित्ने भन्दै गुलामीकै चरणमा लतारिने काममा लागिसकेको ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्रीले दिल्ली छलफलका क्रममा सिमाका विषयमा कुनै संस्थागत छलफल भने नगर्ने भएका छन् । भारतले नै संयुक्त आयोगको बैठकमा सीमाका विषयमा कुरा नहुने प्रष्टयाईसकेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका विषयमा शुरुमै कुनै क्रिया प्रतिक्रिया नजनाई बसेको दिल्लीले ज्ञवाली दिल्ली पुग्नु केही अगाडी मात्रै उनको भ्रमणको कार्यतालिका सार्वजनिक गरेको थियो ।

दिल्ली परराष्ट्रमन्त्री ज्ञवाली पुगेपछि भारतले सीमाबारे छलफल नहुने बताएको छ । गत वर्ष भारतले नेपालको भूमिसमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपाललको कुटनीतिक नोट पठाएर त्यसको विरोध जनाएको थियो । तत्काल वार्ताका लागि भारतीय पक्षलाई आग्रह पनि गर्दै आएको थियो । तर भारतले त्यसलाई समेत अटेर गर्दै आएको थियो । पछि नेकपा सचिवालयमा प्रचण्ड नेपाल लगायतका बहुमत नेताले आफ्नो भूमि समेटेर नक्सा आफुहरुले पनि सार्वजनिक गर्नुपर्ने विषय सरकारको नीति तथा कार्यक्रममा राख्न आग्रह गरेपछि प्रधानमन्त्री ओली नक्सा सार्वजनिक गर्न तयार भएका थिए ।

पछि सरकारले नक्सा सार्वजनिक गर्दै त्यसलाई संविधान संसोधन गरेर सम्वोधन गर्न समेत तयार भयो । तर यो विषयमा भारतसँग भने औपचारिक सम्वाद हुन सकेको छैन् । विवाद बढेपछि दुई देशका उच्चस्तरीय भ्रमण हुन सकेको छैन् । सम्वाद हिनताको बेला केपी ओली सरकारले विवादास्पद भारतीय गुप्तचर प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, विदेश सचिव हर्षवद्दन लगायतकासँग भेटवार्ताको क्रम शुरुआत गरेको थियो ।

त्यसपछि नेपालका तर्फबाट परराष्ट्रमन्त्रीको भारत भ्रमण भएको छ । केभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् । यस्तै उनी प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचनको आह्वान गरेपछि भारत भ्रमण गर्ने पहिलो नेपाली नेता समेत हुन् । गत मंगलबार परराष्ट्र मन्त्रालयले ज्ञवालीको भारत भ्रमणको घोषणा गर्ने क्रममा विज्ञप्तिमा भनिएको थियो कि, बैठकमा सीमा विवादको कुरा पनि उठाइनेछ ।

तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । ’सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,’ श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् ।
भारतले यो विषयमा विषय प्रवेश नै गराउन चाहेको छैन् । परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका राजनीतिक भेटघाटमा सामान्य रुपमा यो विषय उठाएपनि भारतले पूर्व राज्ञा ज्ञानेन्द्रको देश दौडाहका बेला उनले भन्ने गरेकै शैलीमा बुझे, छलफल गरौंला भन्ने बाहेक अर्काे कुनै जवाफ दिने तयारी गरेको देखिदैन् ।
 

प्रतिक्रिया दिनुहोस