काँग्रेस सभापति देउवाले खोजे नेकपा विभाजनको आधिकारिकता

देउवाको प्रश्न छ्–‘तपाईहरु मिल्ने हो की फुटने हो, पहिले त्यसको आधिकारिकता दिनस्, त्यस पछि हामी के गर्ने सोचौंला’

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, ०८ : ५२
काँग्रेस सभापति देउवाले खोजे नेकपा विभाजनको आधिकारिकता

काठमाडौं । सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवाले द्धैध चरित्र देखाएको आरोप काँग्रेस भित्रै छ । एकातिर अध्यादेशको विरोध, अर्काेतिर त्यही अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीसँग भागवण्डा गरी भित्री साँठगाँठ । प्रतिनिधीसभा विघटन पछि पनि देउवाको द्धैध चरित्र कायमै छ ।

आफुलाई प्रजातन्त्रको वकालत गर्ने पार्टी पनि भन्ने, अनि संविधानमै नभएको अधिकार आफ्नो तजबीजी ब्याख्याका आधारमा ओलीले असम्वैधानिक र स्वेच्छाचारि ढंगबाट प्रयोग गरेर प्रतिनिधीसभा विघटन गर्दा समेत त्यसको पूर्नस्थापनामा जोड नगरी देउवाको रणनीति असम्वैधानिक पनि भन्ने र चुनावमा मात्रै जोड गर्ने द्धैध चरित्रको देखिएको छ ।

काँग्रेसभित्रै देउवाको यो भूमिकालाई लिएर अनेक प्रश्न उठेको छ । ‘तपाईको लाइन प्रष्ट भएन, चुनाव हो की अहिले असम्वैधानिक कदमका विरुद्ध सडक आन्दोलन ? अनि के ओलीले वैशाखमा चुनाव गराउने ठान्नुभएको छ ? गराउँछन् चुनाव ? नहुने चुनावमा किन मरिहत्ते ?’ देउवालाई उनकै पार्टीका प्रभावशाली नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल देखि कृष्णप्रसाद सिटौला पक्षसम्मका नेताहरुले सोधिरहेका छन् । तर देउवा दुवै खुट्टामा आफ्नो पाइला चालेर नेकपाभित्रको विवादलाई पर्ख र हेरको नीतिमा अगाडी बढ्न थालेका छन् ।

देउवाले सरकारमा पनि नेकपा, सडकमा पनि नेकपानै रहेकोले पहिले नेकपाभित्रको विवादको टुंगो लाग्नुपर्ने धारणा बताउन थालेका छन् । उनीहरु फुटेकै कँहा छन् र ? अहिले एउटा इस्युमा झगडा गरे, फेरि भोलि मिले भने के गर्ने ?’ देउवाले पहिले यसको सुनिश्चितता खोजेका छन् । मन ओलीतिरै राखेका र ओलीको अफरमा लोभिरहेका देउवा चुनाव साँच्चै भए नेकपा विभाजनको फाइदा आफुहरुले लिने, त्यसपछि पार्टीको महाधिवेशनमा पनि त्यही फाइदा देखाउदै पूनः सभापति जित्ने रणनीतिमा पनि देउवा लागेका छन् ।

ओलीले पनि उनलाई सत्ता सहकार्यको प्रस्ताव गरेकै छन्, फेरि प्रधानमन्त्री बन्ने दाउपेच पनि देउवामा छ । त्यही कारण पनि पार्टीको बहुमत धार ओलीको प्रतिगमनका विरुद्द सडक संर्घषमा जोड गरिरहदा पनि उनी अझै निश्र्कषमा पुग्न सकेका छैनन् । बुधबार नेकपाको प्रचण्ड नेपाल उनलाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगे । शुरुमा निक्कै समय भेट्नै नचाहेका देउवाले त्यो दिन भने भेटलाई गोप्य राख्ने गरी भेट्न तयार भए । तर उनले प्रचण्डले के ओलीले चुनाव गराउँछन् भन्ने लाग्छ तपाईलाई ? भनेर सोधेको जवाफ भने दिन सकेनन् ।

पहिले सम्वैधानिक ब्यवस्था अनुसारको कदममा साथ दिन र ओलीको प्रतिगमनका विरुद्द संयुक्त आन्दोलनमा जान गरेको आग्रहलाई पनि देउवाले खास जवाफ दिन चाहेनन् । उनले यति मात्रै भने, –तपाईहरु के फुट्नु नै भएको हो त ? देउवालाई अझै नेकपाका नेताहरु कुनै विन्दुमा पुगेर मिले भने के गर्ने भन्ने आशंका ब्याप्त छ । त्यही भएर उनले नेकपाका अध्यक्षद्दय प्रचण्ड र माधव नेपालसँगको भेटमा सोधे, –‘तपाईहरु मिल्ने हो की फुटने हो ? पहिले त्यसको आधिकारिकता दिनस्, त्यस पछि हामी के गर्ने सोचौला ।’

प्रतिनिधीसभा पूर्नस्थापनाको माग लिएर प्रचण्ड नेपाल आन्दोलनमा रहदा देउवाले पूर्नस्थापना भए त्यसपछिको परिस्थितीमा कतै नेकपा एक हुने अनि फेरि आफुहरुको अवस्था उस्तै हुने हो की भन्ने ठूलो आशंका ब्यक्त गरेका छन् । उनले पूर्नस्थापना भएर नेकपा नमिलेपनि त्यसपछि आफुलाई प्रधानमन्त्रीको अफर नेकपाको कुन पक्षले कसरी दिन्छ ? भन्ने विषयको पनि लेखाजोखा गरेर बसेका छन् । त्यही भएर उनले पहिले नेकपाभित्रको विवादको आधिकारिकताको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस