कर्णाली प्रदेश : बलात्कार मुद्दामा पैसाको बार्गेनिङ

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ माघ २०७७, ०८ : ०५
कर्णाली प्रदेश : बलात्कार मुद्दामा पैसाको बार्गेनिङ

प्रतिकात्मक तस्विर

सुर्खेत । एक साताअघि दैलेखको नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडाका ३५ वर्षीय रामबहादुर विक पक्राउ परे । वैशाख १० गते दुल्लु नगरपालिका–८ की १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा ६१ वर्षीय नन्दराम भण्डारीले जबर्जस्ती करणी गरे । उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् भने विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी दुई उदाहरण मात्र हुन् । कर्णालीमा पछिल्लो समय बलात्कारका घटना बढेका छन् । ३ वर्षको अवधिमा प्रदेशभरि ३ सय ४७ बलात्कारका मुद्दा दर्ता भएका छन् भने १ सय २६ जनामाथि बलात्कारको प्रयास भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ वर्षीया बालिकादेखि ६० वर्ष उमेरका महिला बलात्कारका घटनामा परेका हुन् । जबर्जस्ती करणी र करणी उद्योगमा ३ वर्षको अवधिमा ४ सय ७३ घटना भएको कार्यालयले जनाएको छ । त्यसमध्ये ७० प्रतिशत दलित समुदायका महिला र किशोरी रहेका छन् ।

कानुनी ज्ञानको अभाव, गरिबी, देखासिकी, अत्यधिक मादक पदार्थ सेवनलगायत कारण बलात्कारका घटना बढिरहेका हुन् । अधिकांश बलात्कारका घटना छिमेकी र आफन्तबाटै भएको इन्सेकका दैलेख प्रतिनिधि अमर सुनारले बताए । उनका अनुसार २०२० मा दैलेखमा १३ वटा बलात्कारका घटना भएका छन् । ‘मुद्दा परेपछि पैसाको बार्गेनिङ चल्छ,’ उनले भने, ‘जसका कारण धेरै पीडितले न्याय पाउन सकेका छैनन् ।’ लेनदेनको कुरा मिलेपछि अदालतमा परेको मुद्दा ‘होस्टायल’ हुने गरेको उनले बताए ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ३ वर्षको अवधिमा १ सय ७५ जना महिला र बालिका बलात्कारमा परेका छन् । ‘कतिपय घटना गाउँमै मिल्छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘तर हामीकहाँ आएका मुद्दामा पीडकले कारबाही भोगेकै छन् ।’ उनका अनुसार विपन्न, दलित र अपांग महिला र बालिका बढी बलात्कारको सिकार भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा सल्यानमा ८६, रुकुम पश्चिममा ५४, जाजरकोटमा ४०, जुम्लामा २२, डोल्पामा ९, मुगुमा १३, कालीकोटमा २३ र सबैभन्दा कम हुम्लामा ४ बलात्कारका मुद्दा परेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस