स्क्रिन सेयर गर्न लगाएर ओटीपी चोर्ने गिरोह सक्रिय

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, २० : ०६
स्क्रिन सेयर गर्न लगाएर ओटीपी चोर्ने गिरोह सक्रिय

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँले पछिल्लो समय बढ्दो अनलाइन ठगीको नयाँ शैलीप्रति सर्वसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा सामान बिक्री गर्ने बहानामा ठगहरूले ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाएर ओटिपी चोर्ने र बैंक खाता खाली गरिदिने प्रकृतिका अपराध बढेको भन्दै प्रहरीले यस्तो ठगीबाट बच्न विशेष अनुरोध गरेको हो ।

प्रहरीका अनुसार, ठगी गर्ने गिरोहले सुरुमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आकर्षक र सस्तो दरमा विभिन्न सामानहरूको विज्ञापन गर्छन् । उक्त विज्ञापन देखेर सम्पर्कमा आउने ग्राहकलाई उनीहरूले सामान खरिदका लागि अग्रिम भुक्तानी गर्न लगाउँछन् ।

ग्राहकले पैसा पठाइसकेपछि ठगहरूले 'पैसा आएन' वा 'प्रणालीमा समस्या देखियो' भन्दै बहाना बनाउँछन् । त्यसपछि समस्या समाधान गर्ने भन्दै उनीहरूले ग्राहकलाई ह्वाट्सएपमा भिडियो कल गर्न लगाउँछन् र सोही कलमा आफ्नो मोबाइलको 'स्क्रिन सेयर' गर्न आग्रह गर्छन् ।

ग्राहकले विश्वासमा परेर स्क्रिन सेयर गर्ने बित्तिकै ठगहरूले उनीहरूको मोबाइल बैंकिङ वा डिजिटल वालेटमा पहुँच बनाउने प्रयास गर्छन् । सो प्रक्रियामा आवश्यक पर्ने ओटिपी पीडितको मोबाइलमा आउँछ र स्क्रिन सेयर भइरहेको हुनाले उक्त ओटिपी कोड ठगहरूले सजिलै देख्छन् । त्यही ओटिपी प्रयोग गरेर उनीहरूले पीडितको बैंक खातामा रहेको सम्पूर्ण रकम आफ्नो खातामा सार्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुधबार एक सूचना जारी गर्दै भनेको छ, 'कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने नगरौं, ठगी हुनबाट बचौं ।' प्रहरीले यस्ता कुनै पनि शंकास्पद गतिविधि देखिए वा कोही ठगीमा परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस