सडक कालोपत्रे र नाला निर्माण गर्न उज्वल टोलको माग

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, १२ : ४१
सडक कालोपत्रे र नाला निर्माण गर्न उज्वल टोलको माग

चितवन । उज्वल टोल विकास संस्थाले सडक कालोपत्रे तथा नाला निर्माण गर्न माग गरेको छ । संस्थाको २० औँ वार्षिक साधरणसभामा टोलका अगुवाले टोलका गुनासाहरु पोखेका थिए । 

उज्वल टोलका अध्यक्ष रामचन्द्र  चालिसेले टोलभित्र ३८ वटा सहायक मार्ग भएपनि ४ वटा सडकमात्रै कालोपत्रे रहेको बताए । उनले वर्षायाममा जम्मा हुने पानीको निकास नहुदा डुवानको स्थिति आउने भएकाले सडक कालोपत्रे र ढल निर्माण विकास गर्नुपर्ने बताए । उनले सृजनाचोकदेखि डबका खोलसम्मको साविक ड्रेन कायम गर्न महानगरको ध्यानाकर्षण गराउँदै ८ मीटरको ग्रीन ट्रायक सहितको ड्रेन बनाउन माग गरे । 

यो टोलमा चितवन तथा बाहिरी जिल्लाबाट बसाइसरी आउनेहरु बढी छन् । यो टोलमा २ सय ५० बढी घरधुरी छन् । भरतपुर–७ का वडा सदस्य सरिता सुवेदी पाठकले टोलभित्रको आवश्यकता पहिचान गरी समाधान गर्न टोल विकास संस्थाले सघाएको बताइन् । 

टोल विकास संस्थाले वार्षिक साधारणसभामा २९ जनालाई सम्मान गरेको छ । ७५ वर्षमाथिका १५ जना जेष्ठ नागरिक, टोलभित्र बसोबास गर्नेमध्येबाट गत एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, हाजिरी जवाफमा विजयी ३ जना सम्मानित भएका छन् । यस्तै नमुना घरआँगन सरसफाई गर्ने पूर्णकला न्यौपाने र मञ्जु काफ्ले सम्मानित भएका छन् । 

लकडाउनका बेला राहत सहयोग गर्ने मनोज गिरी, जेष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने उत्कृष्ट १ परिवार, फुलबारी व्यवस्थापन गर्ने १ जना, लकडाउनमा सतर्कता अपनाएर सेवा दिने पसल सञ्चालक २ जना सम्मानित भएका छन् । कार्यक्रममा दुर्गाबहादुर थापाले कोषाध्यक्ष र नेत्रबन्धु पोखरेलले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । टोलले नयाँ वार्षिक कार्ययोजना तयार गरी वडा कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस