हावा नचल्दा वायु प्रदूषण बढ्यो

पत्रपत्रिकाबाट

बुधबार, २२ पुस २०७७, ०७ : ४८
हावा नचल्दा वायु प्रदूषण बढ्यो

काठमाडौँ । काठमाडौंको वायुमण्डल दुई दिनयता बादलले ढाकेको छ । हावा चलेको छैन । जसका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ । ‘वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिएर बसेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने ।

उनका अनुसार हावा नचलेकाले प्रदूषण जमिनभन्दा केही माथिको सतहमा छ । धेरै किसिमको प्रदूषण मिसिएकाले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् । त्यसै पनि जाडो महिनामा हावा चल्दैन र लामो समय वर्षा पनि हुँदैन । बितेका वर्षहरूमा पुससम्ममा हिउँदे वर्षा हुन्थ्यो । यस पटक बादलले ढाकिरहँदा र वर्षा पनि नहुँदा प्रदूषणको मात्रा बढेको वरिष्ठ मौसमविद् पौडेलले बताए । उनका अनुसार हिउँदका तीन महिना ९मंसिर, पुस र माघ० मा ३.५ प्रतिशत मात्र वर्षा हुन्छ । ‘कुनै वर्ष त्यसको आधा पनि वर्षा हुँदैन,’ पौडेलले भने, ‘जस्तो, यो वर्ष अहिलेसम्म कत्ति पनि वर्षा भएको छैन, जसले गर्दा वायुमण्डल सफा हुन पाएन ।’

बुधबारबाट बादल हट्दै गएर घाम लाग्ने भएकाले प्रदूषणको मात्रा घट्दै जाने विज्ञहरूले बताएका छन् । ‘भिजिबिलिटी’ पनि बढ्ने छ । सोमबारदेखि काठमाडौंमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको हो । काठमाडौंका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक सोमबार र मंगलबार ४ सयभन्दा माथि नाघेको देखिएको छ । वातावरण विभागअन्तर्गतका वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यूएअर’ ले पनि काठमाडौंको वायुमण्डलमा मंगलबार अपराह्न एक्यूआई ४ सय ३७ पुगेको देखाएको थियो । सोमबार पनि काठमाडौंको वायुमण्डलमा सूचकांक अत्यधिक थियो । मंगलबार अपराह्नसम्म विश्वका ५० सहरमध्ये काठमाडौं एक्यूआईका हिसाबले एक नम्बरमा थियो । साँझदेखि भने त्यसमा सुधार आएको छ । वातावरण विभागको मापन केन्द्रले मंगलबार बेलुकी रत्नपार्क (३७१) र भैंसेपाटी (३२९) मा एक्यूआई सबभन्दा बढी देखाएको थियो । भक्तपुर, सौराहा र विराटनगरमा पनि एक्यूआई अत्यधिक थियो । कान्तिपुर दैनिकमा खबर छ ।