प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा : योगेश भट्टराई

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १६ : ५९
प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा : योगेश भट्टराई

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताएका छन् ।

पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक तथा प्रवक्ता भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केपी शर्मा ओली पक्षधरले पूर्वएमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्तिमात्रै भएको बताए । प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाइएको उनको भनाई छ । 

पूर्वएमाले अथवा पूर्वमाओवादी भनी एक ठाउँमा आउँदा मुलुक ०६२÷०६३ को आन्दोलन अगाडिको अवस्थामा पुगी देश द्वन्द्वमा जाने उनले बताए । पूर्वएमाले र पूर्वमाओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उनको भनाई छ ।

२०७५ जेठ ३ गते दुवै पार्टी विधिवत् रुपमा विघटन भएको र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एकीकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडि फर्किन नसकिने उनले बताए ।

स्थायी कमिटी सदस्य भट्टराईले जनताको बहुदलीय जनवाद र एक्काईसौँ शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मलिन आग्रह गरे ।

यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्तरविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिएको भट्टराईको भनाई छ । 

प्रतिक्रिया दिनुहोस