जाडो बढेसँगै विद्युत्‌को उच्च माग, भारतबाट थप आयात हुने

पत्रपत्रिकाबाट

मंगलबार, २१ पुस २०७७, ०८ : ०६
जाडो बढेसँगै विद्युत्‌को उच्च माग, भारतबाट थप आयात हुने

काठमाडौं । जाडो बढेसँगै विद्युत्‌को उच्च माग करिब १ हजार ५ सय मेगावाट नजिक पुगेको छ । पानी परेर जाडो थप बढे उच्च माग अझै बढ्ने प्राधिकरणको अनुमान छ ।

उच्च माग धान्न भारतबाट आयात गर्ने विद्युत्‌को परिमाण बढाउनुपरे तयारीस्वरूप पूर्वाधार स्तरोन्नति गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उनका अनुसार आइतबार विद्युत्को उच्च माग १ हजार ४ सय ६६ मेगावाट पुगेको थियो भने शनिबार १ हजार ४ सय ५७ थियो । गत वर्ष यही समयमा विद्युत्को उच्च माग १ हजार २ सय ८६ मेगावाट रहेको उनले बताए ।

विद्युत्‌को उच्च माग थप बढ्न सक्ने भन्दै प्राधिकरण तयारी अवस्थामा रहेको र आयातित विद्युत्‌को परिमाण बढाउन पूर्वाधार तयार पारिएको उनको तिम्सिनाको भनाइ छ । अहिले भारतबाट दैनिक ६ सय २० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । विद्युत्‌को माग बढे थप एक सय मेगावाट आयात बढाउन सकिने गरी आइतबार राति ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर थपेर चार्ज गरिएको तिम्सिनाले जानकारी दिए । कान्तिपुरमा खबर छ ।