मेस्सी फर्किएसंगै बार्सिलोनाको यात्रा पुनः जिततर्फ

एजेन्सी

सोमबार, २० पुस २०७७, ०८ : ३०
मेस्सी फर्किएसंगै बार्सिलोनाको यात्रा पुनः जिततर्फ

एजेन्सी । बार्सिलोनामा लियोनल मेस्सी मैदान फर्किएसंगै जितको यात्रा पुनः सुरु गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि २७ औँ मिनेटमा मेस्सीको सहयोगमा फ्र्याकी डी जोङ्गले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले बार्सिलोनाबाट ७५० औँ तथा ला लिगामा ५०० औँ खेल खेलेका हुन् ।

मेस्सीले फ्रि किक मार्फत प्रहार गरेको बल क्रसबारबाट माथि गए पनि गोलका लागि भने सहयोग गरे। जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १६ खेलबाट २८ अंक भएको छ । पुछारको हुएस्काको १७ खेलबाट १२ अंक मात्रै छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले एल्चीलाई १–० तथा एइबरले ग्रानाडालाई २–० ले पराजित गर्दा रियल सोसिडाड र ओसासुनाले १–१ को बराबरी गरेका छन् ।