सर्वोच्च अदालतले दियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश

सफल खबर संवाददाता

शुक्रबार, ०१ जेठ २०८३, १९ : २९
सर्वोच्च अदालतले दियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

 

न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्नू भनी आदेश दिएको हो ।

 

सर्वोच्चले उनलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्रै जान पाउने व्यवस्था गर्न भनेको छ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

आफ्ना पति पाण्डेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । प्रहरीको सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास घातलगायतका कसूर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डे पक्राउपछि बैंक तथा वित्तीय संस्थाका संघ संगठनहरूले राजनीतिक पूर्वाग्रहको आधारमा पक्राउ गरिएको भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस