इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति : अमेरिकी विदेश विभाग

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, ११ : ५३
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति : अमेरिकी विदेश विभाग

वासिङ्टन । लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २-३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिएका छन् । यसै बीच, मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ ।

छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भए पछि युद्ध विराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ ।

यद्यपि जारी शान्ति वार्ताको बिचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनहरूलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस