‘जेन जेड आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध’ : असिम शाह

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, ११ : ३८
‘जेन जेड आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध’ : असिम शाह

काठमाडौँ । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन जेड आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 

संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए । 

उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका थिए । 

उनीहरूको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेन जेड आन्दोलनकै जगमा बनेको र यसले जेन जेडको हकहितका लागि निरन्तर काम गरिरहेको बताए। उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने, “यो सरकार जेन जेड आन्दोलनकै जगमा बनेको हो। तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ। त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो।”

प्रतिक्रिया दिनुहोस