काठमाडौँ । संविधानसभाको पहिलो चुनावको परिणामले पहिलो दल बनाएपछि सरकारको नेतृत्व गर्न पुगेका तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफूपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपालविरुद्ध २०६६ जेठमा यसैगरी सडकमा आएका थिए, जसरी वर्तमान प्रधानमन्त्रीविरुद्ध मंगलबार सडकमा ओर्लिए ।
स्पष्टै बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको नेकपा सरकार र सडकमा यति छिट्टै विभाजित होला भनेर कसैले पनि सोचेका थिएनन्, नेकपाकै नेताहरूले पनि । ‘प्रतिगमनविरुद्ध यति छिट्टै संघर्षमा उत्रिनुपर्ला भन्ने लागेकै थिएन,’ नेकपा अध्यक्ष दाहालले मंगलबार राजधानीको भृकुटीमण्डपमा यसो भन्नुको संकेत पनि त्यही हो ।
१२ वर्षअघि सत्ता र सडकमा बाँडिएका दाहाल र नेपाल अहिले सडकमा आउँदा उनीहरूका ‘साझा शत्रु’ कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । उनीहरूले गर्ने भाषण र त्यसभित्रका अधिकांश आक्रोश प्रधानमन्त्री ओलीमाथि नै देखिन्छ । विभाजित भइसकेपछि एक–अर्को पक्षलाई लगाइएका संगीन आरोपहरू लामो दूरीका क्षेप्यास्त्रजस्तै लाग्छन् । झन्डै दुई तिहाइको बहुमत प्राप्त नेकपा अत्यधिक घृणा बोकेर दुई चिरा पर्दा नागरिकको दैनिकीमा यसको असर पर्ने लगभग निश्चितजस्तै छ, जस्तो कि नेकपाको आमसभाका कारण मंगलबार सयौं सवारीसाधन घण्टौं जाममा परे, जामकै कारण बिरामी बोकेर हुइँकिएको एम्बुलेन्स रोकिएको रोकियै भयो ।
यद्यपि हजारौं संख्यामा नेकपाका नेता–कार्यकर्ता सडकमा उत्रिएर प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम फिर्ता गर ।’ नेकपाको आन्तरिक द्वन्द्व र त्यसले सिर्जना गरेको फुटको आधारलाई एकातिर राखेर हेर्दा आफैंले निर्माण गरेको संविधानलाई चुनौती दिने गरी प्रधानमन्त्री ओलीले चालेको कदम आत्मघाती र स्थायित्व चाहने आमनागरिकका भावनाको बर्खिलापमा छ । ओलीको यो कदमको आमनागरिकले पनि आलोचना नै गरेका छन् ।
त्यसैले अहिले सडकमा उत्रिएका ओलीकै सहयात्रीहरूको पहिलो लक्ष्य विघटित प्रतिनिधिसभा पुनर्गठन हो, जसले संविधानको मर्मलाई फेरि जीवन दिन भूमिका खेल्छ । उनीहरूले मंगलबार सुरु भएको सडकी मोर्चालाई ट्रेलरका रूपमा मात्रै बुझ्न आग्रह गर्दै जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहन कार्यकर्तालाई निर्देश गरेका छन् ।
ओली शैलीबाट आकुलव्याकुल भयौं भन्दै जनताको शरण खोज्न सडकमा पुगेका नेताहरू अधिकांश समय ओलीमाथि नै खनिए । उनीबारे चर्को टिप्पणी हुँदा हौसिएका कार्यकर्ता हुटिङ गरिरहेका थिए । नेकपाका रातारसेता झन्डा फहराइरहेका कार्यकर्तालाई दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको एउटै आह्वान थियो, ‘ओलीको तानाशाही प्रवृत्तिविरुद्ध अन्तिम पटक लडौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारले पठायो टिकटकलाई अर्को पत्र
अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी पदमुक्त
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न सरकारको आग्रह
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति
सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्दै
शिक्षकहरूले उठाएका संवैधानिक विषयमा सहमति हुँदैन : सरकार