कांग्रेसद्वारा शिक्षक हत्याका दोषीलाई कारबाहीको माग, विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा आउन अपिल

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १४ : २८
कांग्रेसद्वारा शिक्षक हत्याका दोषीलाई कारबाहीको माग, विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा आउन अपिल

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसले मोरङ मिक्लाजुङका शिक्षक हत्याका दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले मोरङमा बर्बर ढंगले शिक्षक हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

मोरङको मिक्लाजुङमा मंगलबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो । हत्याको विप्लव समूहले जिम्मा लिएको छ । 
बैठकमा कांग्रेसले हत्यामा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ । 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ ।’

बैठकले हत्यामा संलग्नलाई कडा कारवाहीको समेत माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मोरङको मिक्लाजुङमा मंगलबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको प्रकरणपछि अपराधस्थल आसपासको जंगलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन जारी राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस