४ महिनामै २७ सय फरार अभियुक्त पक्राउ

पत्रपत्रिकाबाट

बुधबार, २४ मंसिर २०७७, ०७ : ४३
४ महिनामै २७ सय फरार अभियुक्त पक्राउ

काठमाडौँ । १७ वर्षको उमेरमा डकैती गरी फरार स्याङ्जाका ६४ वर्षीय लालबहादुर लाम्जाली ४७ वर्षपछि प्रहरी फन्दामा परे । स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार लाम्जाली अपराध गरेर सुरुमा भारत पलायन भएका थिए, पछि कसुर पुरानो हुँदै गएपछि घर फर्किएर पुनः वैदेशिक रोजगारीका क्रममा साउदी अरब, मलेसियालगायत मुलुक पनि गएका थिए ।

स्याङ्जा प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १ सय ११ जनालाई कात्तिक १९ मा पक्राउ गर्‍यो । यसअघि असोज ४ मा ४८ जना फरार अपराधीलाई पक्राउ गरेको थियो । यसैगरी, सप्तरी प्रहरीले पनि असोज ८ मा फरार १५ जना अपराधीलाई पक्राउ गरेको थियो । त्यसको झन्डै डेढ महिनापछि ९कात्तिक २१० थप ४५ जना पक्राउ परे । उता, साउन १६ मा जिल्ला प्रहरी कार्यालय पाल्पा र मातहत इकाइले १४ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ । यीबाहेक देशभरका अन्य जिल्ला प्रहरी कार्यालयले पनि विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई लुकीछिपी बस्दै आएका अपराधी पक्रन विशेष संयन्त्र खटाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि कात्तिकसम्म देशभरबाट २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । उनीहरूले समग्रमा १ हजार ५ सय ५३ वर्ष कैद र साढे ११ करोड रुपैयाँ बिगोरजरिवाना असुलको सजाय पाएका थिए । गत आर्थिक वर्षमा देशभरबाट १ हजार ३ सय ७८ वर्ष कैद र ३८ करोड ९० लाख रुपैयाँ जरिवानाको सजाय पाएका २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए ।

योभन्दा चालु आवको पहिलो ४ महिनामै फरार अपराधी पक्राउको संख्या बढी पुगेको हो । यसरी पक्राउ परेका कैदीले जरिवानाबापत बुझाउनुपर्ने रकमको २५ प्रतिशत प्रोत्साहनस्वरूप प्रहरीलाई उपलब्ध गराउने कानुनी व्यवस्था छ, जसअनुसार पछिल्लोपटक पक्राउ परेका व्यक्तिबाट असुल हुने जरिवानामध्ये करिब ३ करोड रुपैयाँ प्रहरीले पाउनेछन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले फरार अपराधी धमाधम पक्राउ पर्न थालेपछि कारागारमा कैदीबन्दीको चाप बढेकाले व्यवस्थापनमा चुनौती थपिएको बताए । ‘यसै पनि भौतिक संरचना अपर्याप्त छ, जसका कारण पछिल्लोपटक बढेको चापका कारण कैदीबन्दीलाई कोचाकोच गरेर भए पनि व्यवस्थापन गर्नुपर्ने बाध्यता आयो,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस