पर्खाल नाघेर सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०८२, ०८ : ४१
पर्खाल नाघेर सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोटाङको दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पाेखरी नजिकबाट पक्राउ गरिएको हो।

जबर्जस्ती करणीका कसुरदार पौडेल २०८२ साउन २८ गते बिहान सुनसरी कारागारको पर्खाल नाघेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पौडेललाई आज बिहान करिब ६ बजे लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जबर्जस्ती करणी मुद्दामा पौडेलविरुद्ध सुनसरी जिल्ला अदालतले १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ। 

पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस