७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

रासस

सोमबार, १५ मंसिर २०७७, २० : ४४
७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताउनुभएको छ । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताउनुभयो । 

“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उहाँले भन्नुभयो, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ भन्नुभयो । 

“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत बोल्नुभएको थियो । 

कार्यक्रममा ५० श्ययाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० श्ययाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो । सरुवा रोग भवन निर्माण गर्न रु आठ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ । 

आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु नौ करोड बजेट विनियोजन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस